काठमाडौं, नबिल बैंक लिमिटेडले सार्वजनिक बिदाका दिनमा समेत ग्राहकलाई निरन्तर बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले तीन सय ६५ दिने बैंकिङ काउन्टर सञ्चालन गर्ने भएको छ । बैंकले कात्तिक २८ गते शनिबार र २९ गते आइतबार देशका छ प्रदेशमा रहेका आठवटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरेको हो ।
बैंकले जारी गरेको सूचनाअनुसार कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमती प्रदेशको तीनधारा र ललितपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज धम्बोजी तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट ग्राहकले बैंकिङ सेवा लिएका हुन् । बिदाका दिन सञ्चालन हुने शाखाहरूको समय पनि बैंकले निर्धारण गरेको छ । बागमती प्रदेशअन्तर्गतको तीनधारा शाखा दिउँसो एक बजेदेखि बेलुका चार बजेसम्म र तीनधारा शाखाबाहेक अन्य सातवटै शाखा भने बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्म सञ्चालन हुने व्यवस्था बैंकले गरेको थियो ।
उक्त तीन सय ६५ दिने बैंकिङ काउन्टरबाट ग्राहकले अधिकतम १० लाख रुपैयाँसम्म नगद जम्मा गर्न सक्नेछन् भने अधिकतम दुई लाख रुपैयाँसम्म रकम झिक्न पाउने सुविधा उपलब्ध हुनेछ । सार्वजनिक बिदाका कारण बैंकिङ कारोबारमा पर्न सक्ने असहजतालाई कम गर्दै ग्राहकलाई आवश्यक वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बैंकले जनाएको छ । यसबाट बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ कारोबार गर्नुपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा बैंकले गरेको छ ।