भक्तपुर, डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन् । उनले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
“योग साधना गर्ने पतञ्जली र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ, त्यो गर्न प्रदेश सरकार तयार छ । यो प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्ने तयारीमा छौँ, त्यसका लागि तपाईंहरु लाग्नुस्” मुख्यमन्त्री थापा मगरले भने ।
डोलेश्वरमा धर्मशाला बनेपछि स्थायी रुपमा योग गर्न निकै सहज हुने बताउँदै उनले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरुमा विहानको समयमा योग साधना सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याए ।
उनले प्रदेश सरकारले यसवर्ष जनस्वास्थ्य कार्यालय मार्फत योगका लागि राखेका केही बजेटबाट पतञ्जली योग, जीवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरुमार्फत योगको विकासका लागि खर्च गरिने बताए ।
कार्यक्रममा पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल, केन्द्रीय महासचिव नवराज काफ्ले, सूर्यविनायक नगरपालिका–८ वडाध्यक्ष पुष्पराज बस्नेतलगायतले योग साधनाको महत्व र यसले मानव जीवनलाई स्वस्थ्य तुल्याउन पुर्याउने योगदानबारे चर्चा गरेका थिए ।