काठमाडौं, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा ६५ लाख ४४ हजार रुपैयाँ खुद नोक्सानीमा गएको छ । कम्पनीले गत आवको सोही अवधिमा १२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै कम्पनीको नाफा घटेर घाटामा परिणत भएको हो । कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक तीन रुपैयाँ ६२ पैसा कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैयाँ ६८ पैसा रहेको थियो ।
कम्पनीको बीमाशुल्क आर्जनमा भने सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले चार अर्ब ८३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले चार अर्ब ५१ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन छ दशमलव ९२ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर चार अर्ब ८१ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम चार अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
कुल बीमाशुल्क आर्जनमा वृद्धि भए पनि कम्पनीको कुल आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीले पाँच अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी पाँच अर्ब ६२ करोड ५५ लाख रुपैयाँ थियो । यसैगरी, कम्पनीको कुल खर्च बढेर पाँच अर्ब ४६ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च पाँच अर्ब ४० करोड ५४ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको कुल सम्पत्ति ७४ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत आवको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ७३ अर्ब ५६ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड २ लाख रुपैयाँ रहेको छ भने सञ्चित नोक्सानी बढेर चार अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल इक्विटी चार अर्ब ३१ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ । यता, कम्पनीको बीमा पोलिसी संख्यामा पनि कमी आएको छ । समीक्षा अवधिमा कम्पनीसँग कुल पाँच लाख ६० हजार चार सय १३ वटा बीमा पोलिसी कायम रहेका छन् । गत आवको सोही अवधिमा यस्तो संख्या पाँच लाख ९१ हजार नौ सय ७० रहेको थियो ।