ब्रसेल्स, चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे शुक्रबार ‘समझदारी’ बनेको छ । उनीहरूका वाणिज्य प्रमुखहरूले वार्ता टुङ्ग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाए, जसले पूर्ण व्यापार युद्धको डरलाई कम गरेको छ ।
युरोपेली संघका मारोस सेफ्कोभिक र चीनका वाङ वेनताओले दुवै पक्ष हाइब्रिड कारको ‘कम्पनी मूल्य प्रतिबद्धतासम्बन्धी प्रक्रिया’ पालना गर्ने सहमति जनाएको बेइजिङको वाणिज्य मन्त्रालयले संयुक्त विज्ञप्ति उद्धृत गर्दै बताएको छ ।
महत्वपूर्ण अटोमोटिभ क्षेत्र वार्ताको अग्रिम चरणमा केन्द्रबिन्दु थियो । चीनबाट आउने सस्तो उत्पादनले युरोपेली उद्योगलाई थिचोमिचो पारेको छ र ब्रसेल्सले ती निर्यातलाई व्यवस्थापन गर्न खोजिरहेको थियो । ब्रसेल्सलाई थप राहत दिने कदममा बेइजिङले युरोपेली संघलाई दुर्लभ खनिजजस्ता आवश्यक वस्तुहरूको आपूर्ति जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ ।
‘चीनले युरोपेली संघका लागि दुर्लभ खनिज र स्थायी चुम्बकको निर्यात लाइसेन्स स्वीकृतिलाई सहज बनाउन संवाद जारी राख्न तयार छ’, विज्ञप्तिमा भनिएको छ । उनीहरूले आपसमा ‘असहमति’ रहेको स्वीकार गर्दै दुवै पक्ष व्यापार वार्ता कायम राख्न र मार्चमा थप बैठक गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो वार्ता २७ राष्ट्रको युरोपेली संघ र एसियाली शक्तिबीच महिनौंदेखि बढ्दो तनावपछि भएको हो, जसले व्यापार युद्धमा परिणत हुने खतरा थियो । सेफ्कोभिकले बिहीबार वाङसँग भेटपछि वार्ताले ‘ठोस परिणाम’ दिनु ‘अत्यावश्यक’ रहेको बताएका थिए । उनले शुक्रबार विहान युरोपेली संघको चीनसँगको व्यापार घाटा दैनिक करिब एक अर्ब युरो (१.१ अर्ब डलर) रहेको र यो ‘असहनीय’ भएको बताएका थिए । युरोपमा धेरैले चीनलाई ठूला अनुदानमार्फत कम्पनीहरूलाई समर्थन, मूल्य डम्पिङ र मुद्रा हेरफेरजस्ता अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँछन् ।
युरोप बेइजिङलाई चिढाउन सक्दैन, तर चीनका लागि पनि जोखिम उच्च छ । कमजोर घरेलु अर्थतन्त्रको क्षतिपूर्ति गर्न चीन निर्यातमा अत्यधिक निर्भर छ । युरोपेली संसद्को व्यापार समिति प्रमुख बेन्र्ड लान्गेले सेफ्कोभिकको भ्रमणअघि भनेका थिए, ‘चीनको ‘यो आर्थिक संकट’ ले युरोपेली संघलाई ‘मोलतोलको लागि शक्ति’ दिएको छ ।
‘चीनस्थित युरोपेली संघ च्याम्बर अफ कमर्सका सदस्यहरूबीच वार्तामा केही ‘चिन्ता’ रहेको छ’, च्याम्बरका महासचिव एडम डननेटले भने । स्थानीय रूपमा सञ्चालन भएका युरोपेली कम्पनीहरूले ‘बकाया व्यापार असन्तुलनको महत्त्व र वास्तविक समस्या’लाई स्वीकार गरेको डननेटले शुक्रबार बेइजिङमा एएफपीलाई बताए ।
‘उनीहरू यसलाई सम्बोधन गर्नुपर्छ भन्ने पूर्ण रूपमा समर्थन गर्छन्, तर यसलाई समानुपातिक, विशिष्ट र वार्तामार्फत गर्नुपर्छ भन्ने चाहन्छन्, ताकि समग्र सम्बन्ध व्यवस्थापन गर्न सकियोस्’, उनले भने । बेइजिङले दुर्लभ खनिज आपूर्ति जारी राख्ने प्रतिबद्धताले चीनस्थित युरोपेली कम्पनीहरूलाई केही राहत दिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका भन्सार शुल्कको बदलास्वरूप बेइजिङले गत वर्ष लगाएका नयाँ नियमअन्तर्गत यी कम्पनीहरू महत्वपूर्ण सामग्रीमा जटिल पहुँचको अभावको सामना गरिरहेका छन् । ‘त्यसबारे अलि बढी पारदर्शिता हुनु’ यस साताको वार्ताको मुख्य उपलब्धि हो’, उनले भने ।