काभ्रेपलाञ्चोक, दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै सवारी आवागमन भइरहेको छ। आगामी दसैँलाई लक्षित गर्दै यात्रा थप सहज बनाउन सडक मर्मत तथा व्यवस्थापनको काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।विसं २०८१ असोजमा आएको बाढीपहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सवारी आवागमन गरिँदै आएको थियो। तर, यही असोजको पहिलो साता आएको अविरल वर्षासँगै आएको बाढीले उक्त डाइभर्सन बगाएपछि हाल पुनर्निर्मित सडकबाटै सवारी सञ्चालन गराइएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले एक–दुई स्थानमा सडक साँघुरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमनको व्यवस्था गरिएको बताए। उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भागको मर्मत भइरहेको छ भने डालाबेँसी–पिप्ले सडकखण्डको करिब २०० मिटरमा डाइभर्सनबाट यातायात सञ्चालन भइरहेको छ।पुनर्निर्मित सडकबाट आवागमन भइरहे पनि हाल जामको समस्या नरहेको योगेशले बताए। वर्षाका कारण सडकमा लेदो तथा पहिरो खसेर आवागमन अवरुद्ध भए आधा घण्टादेखि केही घण्टाभित्र सडक खुलाउने गरी आवश्यक सामग्री तथा उपकरणको व्यवस्थापन गरिएको उनको भनाइ छ।
“दसैँमा यात्रा सहज बनाउन थप मर्मतकार्य भइरहेको छ”, योगेशले बताए। असोजमा आएको अविरल वर्षाका कारण डाइभर्सन बगाउनुका साथै पहिरो र लेदोले बिपी राजमार्ग पाँच दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसयता पुनर्निर्मित पुरानै सडकको ट्र्याकबाट सवारी आवागमन गराइएको योगेशले बताए। यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणको कामलाई तीव्रता दिइएको थियो।नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको मार्गका रूपमा रहेको बिपी राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाउँदा आवागमन अवरुद्ध हुने गरेको थियो।
कार्यालयले पुनर्निर्मित सडकको ट्र्याकमा वर्षाका कारण सकेसम्म आवागमन अवरुद्ध हुन नदिने र अवरुद्ध भइहाले आवश्यक उपकरण प्रयोग गरी आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको योगेशले बताए।“दसैँलाई लक्षित गरी वर्षालगायत कारणले सडक अवरुद्ध भइहाले आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ। यसका लागि आवश्यक उपकरणसमेत तयारी अवस्थामा राखिएको छ”, उनले बताए।
योगेशका अनुसार साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डमा भदौदेखि सवारी आवागमन भइरहेको छ। यद्यपि चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ।राजमार्गको क्षतिग्रस्त क्षेत्रका अधिकांश स्थानमा ग्राभेल गर्ने काम भएको छ भने केही स्थानमा ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ। वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल गरिएको छ। हिउँद लागेपछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक निर्माण गरी कालोपत्र गरिने जनाइएको छ।
कतिपय स्थानमा आरसिसी पर्खालको जग निर्माण सम्पन्न भई थप काम भइरहेको छ। ट्र्याक निर्माण भएका सडकमा ग्राभेलसमेत गरिएकाले सवारी सञ्चालनमा समस्या नहुने कार्यालयको अपेक्षा छ।क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको एक सडकखण्डका लागि एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो।क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक पुनर्निर्माणको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ। जाइकाले उक्त खण्डमा माटो भर्ने र बोल्डर अर्थात् ठूला ढुङ्गा राख्ने काम गरेको जनाएको छ। वर्षायाममा पनि यस खण्डमा खोलाबाटै सवारीसाधन चलाउनुपर्ने अवस्था नरहेको योगेशले बताए।
राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौतामार्फत काम अघि बढाइएको छ।पुनर्निर्माणसँगै राजमार्गलाई स्तरोन्नति गरी दुई लेनको सडक बनाइने भएको छ। “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ। यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको बनाइनेछ”, योगेशले बताए। उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ। तीनवटा सडकखण्डमा कुल छ दशमलव तीन किलोमिटर आरसिसी पर्खाल निर्माण गरिनेछ।जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण सुरु गरिएको थियो। निर्माण सम्पन्न भएपछि जापान सरकारले विसं २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो।