काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। रोहित पौडेलको शतकीय पारीमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो।ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितले १२७ बलमा आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक १०१ रन बनाए।
गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे। अर्जुन कुमालले २३ रन बनाए। अन्य ब्याटरले ठूलो योगदान दिन नसक्दा नेपाल २३५ रनमा समेटिएको थियो। क्यानडाका अखिल कुमारले चार विकेट लिए। सुख्जिन्दर सिंहले तीन तथा जहिर शिर्जादले दुई विकेट लिए।
२३६ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। तर, उनीहरूको प्रयास जितका लागि पर्याप्त भएन।नेपालका करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। नेपाली बलरले नियमित अन्तरालमा विकेट लिएपछि क्यानडा लक्ष्यसम्म पुग्न सकेन।
अंकतालिकामा नेपाल छैटौँ स्थानमा
क्यानडामाथिको जितपछि नेपाल लिग–२ को अंकतालिकामा ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ। यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो। त्यसपछि नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको विवरणमा उल्लेख छ। अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्य महत्त्वपूर्ण बनेको छ।