काठमाडौं, नेपाल टेलिकमले दशैँ, तिहार तथा छठलगायतका पर्वहरुको अवसर पारेर दसैं तिहार अफर २०८३ उपलब्ध गराउने भएको छ ।
अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत असोज २५ देखि कात्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क पाँच सय रुपैयाँ मिनाहा हुने भएको छ ।
त्यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ । यसमा बोनसको रुपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिनासम्म नै उपलब्ध हुने कम्पनीले जनाएको छ । भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिने ग्राहकहरुका लागि एक हजार रुपैयाँ छुट पहिलेदेखि नै उपलब्ध रहेको छ ।
अफरअन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ । फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।
यसका साथै २५० रुपैयाँमा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेट्स र ९९ रुपैयाँमा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ । यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
यो अफर भने आगामी २०८३ असोज ३० देखि कार्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरुले पाउनेछन् । आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ११ ह्याक्स डायल गरेर वा ’नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरु खरिद गर्न सकिनेछ ।