काठमाडौं, मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनको अध्यक्षमा पुनः दिपक कुमार मलहोत्रा चयन भएका छन् । एसोसिएसनको दशौं वार्षिक साधारणसभाले मलहोत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शमशेर थापा तथा कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन् । यस्तै सञ्चालक सदस्यहरुमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मलहोत्राले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्याहरुको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उपाध्यक्ष अग्रवालले एसोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसाय क्षेत्रको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर आगामी कार्य अघि बढाउने बताए । उनका मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी (ग्रे मार्केट) नियन्त्रण तथा एमडीएमएसको प्रभावकारी प्रवद्र्धन, छाता संगठनहरुसँग समन्वय तथा सहकार्य, व्यवसायीको हकहित संरक्षण र उपभोक्ता हितको प्रवद्र्धन एसोसिएसनका प्रमुख प्राथमिकता रहनेछन् । साधारणसभाले एशोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा वार्षिक आय–व्यय विवरण पारित गरेको छ ।