काठमाडौं, नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको बताए । नेपालमा नेपाली वस्तुको ब्रान्डिङ कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्रान्डसमेत बजारमा बिक्री भइरहेको उनको भनाइ छ । ‘नेपालमा धेरै सम्भावना भएका वस्तु छन् । छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्रान्डिङ गर्न सकिएको छैन,’ उनले भने, ‘ब्रान्डिङका क्षेत्रमा कानुनी समस्या पनि छन् । उपर्युक्त कानुन बनाई कानुनलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।’ नेपाली ब्रान्ड केवल कुनै वस्तु वा सेवाको नाम मात्र नभई उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय भएको उनले बताए ।
नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उनको भनाइ थियो । उत्पादनसँगै ब्रान्डिङ, गुणस्तर, बजार विस्तार र उपभोक्ताको विश्वास निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए । उनले ‘मेड ईन नेपाल’ लाई विश्व बजारमा बलियो पहिचान बनाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । नेपाली ब्रान्डलाई नेपालको बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन नीतिगत सुधार आवश्यक रहेको बताए । सरकारले स्थिर नीति, सहज व्यावसायिक वातावरण, लगानीमैत्री कानुन, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने उनको भनाइ छ ।