गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीले सयभन्दा बढी घर तथा गोठमा क्षति पुर्याउनुका साथै गाउँबस्ती जोड्ने पुल, विद्यालय र जलविद्युत् आयोजनासमेत बगाएको छ। बाढीका कारण केही व्यक्ति सम्पर्कविहीन भएका छन् भने प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार जारी छ। आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेपछि खोला थुनिएको र एक्कासि खुलेसँगै बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान करिब ४ बजे बाढी आएको थियो। भू–उपग्रहबाट लिइएका तस्बिरअनुसार शनिबार साँझ नै पहिरो गएको देखिएको महाशाखाको भनाइ छ।
उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। चुमनुब्रीको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्रमा क्षति पुगेको छ। त्यस्तै, धार्चेको दोभान, माछीखोला र यारुबगर तथा आरुघाटको सोती र आरुघाट बजार प्रभावित भएका छन्।
१० जना सम्पर्कविहीन
बाढीमा परेर उङ्गिलुङ भेडीगोठमा बस्ने चुमनुब्री गाउँपालिका–६ चुन्चेतका पाँच जना सम्पर्कविहीन भएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका पाँच जना पनि सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले बताए।
छवटा पुल बगायो
बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ। गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बाढीले बगाएको छ। त्यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुलसमेत बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए।
बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल तथा घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन्।
बाढीले गाउँबस्ती जाने पुल बगाएपछि दसैँका बेला आवतजावतमा समस्या भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए।“माछीखोलाको पुल बगाउँदा केरौँजा, लामाबेँसी, रुन्चेतलगायत गाउँबस्ती जाने बाटो बन्द भयो”, उनले भने, “दसैँको मुखमा हामीलाई ठूलो विपत्ति आइपर्यो।”
चुमनुब्री गाउँपालिका–३ फिलिमकी कुमारी गुरुङले पनि पुल बगाउँदा दसैँमा घर जाने बाटो बन्द भएको बताइन्।“हामी त अब यहीँ थुनियौँ, तलबाट घर आउनेहरूको बाटो पनि बन्द भयो”, उनले भनिन्, “यहाँ आउने हेलिकोप्टरबाहेक अन्य उपाय छैन।”
बाढीले चुमनुब्री गाउँपालिका–६ सिर्दिभीरको क्यान्टिलिभर पुलसमेत बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए। उक्त पुल चुमनुब्री–६ चुम्लिङ र वडा नं. ७ छेकम्पारका बस्तीमा पुग्ने एकमात्र सहारा रहेको जनाइएको छ।
विद्यालय र जलविद्युत् आयोजनामा क्षति
बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए।बाढीका कारण उत्तरी गोरखाका तीनवटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ। चुमनुब्री–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावर हाउस र लेबर क्याम्प बाढीले बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ यारु र दोभानमा रहेका दुईवटा जलविद्युत् आयोजनामा क्षति पुगेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए।
सल्लेरीको जलविद्युत् आयोजनामा क्षति पुगेपछि न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास र उहियालगायत गाउँबस्ती विद्युत्विहीन बनेका गुरुङले बताए।
सयभन्दा बढी घर तथा गोठमा क्षति
बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रमा चारवटा भेडीगोठ बगाएको छ। बूढीगण्डकी किनारका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ३१ घरधुरी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
उनका अनुसार धार्चे गाउँपालिकाको माछीखोला, यारुबगर र दोभानका करिब ५० घरधुरी तथा आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरधुरीमा क्षति पुगेको छ।
हेलिकोप्टरमार्फत उद्धार जारी
बूढीगण्डकी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार जारी छ। चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी न्याक गाउँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
त्यस्तै, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको उद्धार गरिएको उनले जानकारी दिए। उनका अनुसार यारुबगरमा फसेका पर्यटक, स्थानीय र जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिलाई हेलिकोप्टरमार्फत हुल्चुक गाउँमा लगिएको हो।
हेलिकोप्टरले मनासलु क्षेत्रमा अलपत्र परेका ९० जना पर्यटक, गाइड र भरियाको पनि उद्धार गरेको छ। बाढी प्रभावित चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ।