विराटनगर, नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा दुग्ध वितरण आयोजना विराटनगरका कार्यालय प्रमुख पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा कार्यालय प्रमुख नवीनकिशोर शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । शर्मा पक्राउ परेपछी विराटनगर वितरण केन्द्रमा हलचल मच्चिएको छ । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याइएको भन्ने उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको जानकारी दिए । ब्युरोको प्रारम्भिक अनुसन्धानमा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजना अनुसार आपसी मिलेमतोमा विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको देखिएको थियो ।
उक्त प्रकरणमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए । ब्युरोले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरेको हो । यस प्रकरणमा अनुसन्धानका लागि प्रहरीले दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख शर्मालाई पक्राउ गर्नु अगाडी नै अन्य आठ जनालाई पक्राउ गरिसकेको जानकारी समेत गराएको छ ।