लघुवित्तमा साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणालीः जोखिम व्यवस्थापनको नयाँ आयाम
नेपालको लघुवित्त क्षेत्रले वित्तीय पहुँच विस्तार, महिला सशक्तीकरण, ग्रामीण उद्यमशीलता विकास र विपन्न समुदायको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बैंकिङ सेवाबाट वञ्चित न्यून आय भएका परिवारलाई सानो पुँजी उपलब्ध गराएर स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्नु यस क्षेत्रको प्रमुख उपलब्धि हो । तथापि, पछिल्लो समय लघुवित्त संस्थाहरूले बढ्दो खराब कर्जा, कर्जा असुलीमा कठिनाइ, बहुकर्जा, ऋणीको अत्यधिक ऋणभार, कमजोर कर्जा अनुशासन र संस्थागत वित्तीय स्थायित्वसम्बन्धी चुनौती सामना गरिरहेका छन् । तसर्थ, कर्जा प्रवाह गर्नुअघि ऋणीको आर्थिक क्षमता मात्र होइन, व्यवहार, इमानदारी, आचरण वित्तीय अनुशासन र जिम्मेवारीबोधसमेत मूल्यांकन गर्न सके लघुवित्तको कर्जा गुणस्तर र संस्थागत सुशासन सुधार गर्न सकिन्छ ।
बदलिँदो वित्तीय परिवेश र कर्जा मूल्यांकनको आवश्यकता
नेपालको आर्थिक तथा सामाजिक विकासमा लघुवित्त संस्थाहरूको योगदान महत्वपूर्ण छ । स्वरोजगार, उद्यमशीलता, बचत परिचालन र महिला सशक्तीकरणमा उल्लेखनीय भूमिका खेले पनि पछिल्लो समय बढ्दो खराब कर्जा, बहुकर्जा, ऋणीको अत्यधिक ऋणभार, कर्जा दुरुपयोग र असुली चुनौतीले वित्तीय स्थायित्वमा प्रश्न उठाएको छ । यी समस्याको समाधान कर्जा नियन्त्रण र असुलीमा कडाइ मात्र होइन, प्रवाहपूर्व सही ऋणी पहिचान र जोखिम मूल्यांकन पनि हो । त्यसैले परम्परागत वित्तीय सूचकसँगै ऋणीको व्यवहारगत तथा मनोवैज्ञानिक पक्ष समेट्ने साइकोमेट्रिक क्रेडिट स्कोरिङ प्रणाली प्रभावकारी विकल्पका रूपमा आवश्यक देखिएको छ ।
साइकोमेट्रिक क्रेडिट स्कोरिङ ः ऋणीको व्यवहारको वैज्ञानिक मूल्यांकन
साइकोमेट्रिक क्रेडिट स्कोरिङ भनेको ऋणीको मनोवैज्ञानिक विशेषता, व्यवहार, इमानदारी, निर्णय क्षमता, वित्तीय अनुशासन, जिम्मेवारीबोध, आचरण, उद्यमशील सोच र जोखिम व्यवस्थापन गर्ने क्षमताको संरचित परीक्षण गरी उसको सम्भावित कर्जा भुक्तानी व्यवहारको मूल्यांकन गर्ने विधि हो । परम्परागत कर्जा विश्लेषणले ऋणीसँग कर्जा तिर्ने आर्थिक क्षमता कति छ भन्ने विषयमा जोड दिन्छ भने साइकोमेट्रिक स्कोरिङले कर्जा तिर्ने इच्छाशक्ति, आचरण, निर्णय क्षमता, र जिम्मेवारीबोधसम्बन्धी थप सूचना उपलब्ध गराउँछ ।
यस प्रणालीमा वैज्ञानिक रूपमा तयार गरिएका प्रश्नावली तथा मनोवैज्ञानिक परीक्षणमार्फत ऋणीको आर्थिक निर्णय, समस्या समाधान गर्ने क्षमता, आम्दानी र खर्च व्यवस्थापन, व्यावसायिक प्रतिबद्धता तथा आर्थिक दायित्वप्रतिको दृष्टिकोण परीक्षण गरिन्छ । प्राप्त उत्तरलाई पूर्वनिर्धारित अंकभारअनुसार विश्लेषण गरी समग्र स्कोर तयार गरिन्छ । यसरी प्राप्त नतिजाले कर्जा अधिकृतलाई ऋणीको व्यवहारगत जोखिम बुझ्न थप आधार प्रदान गर्छ । यो परम्परागत कर्जा विश्लेषणको विकल्प नभई त्यसलाई थप वस्तुनिष्ठ, वैज्ञानिक र प्रभावकारी बनाउने पूरक उपकरण हो ।
अन्तर्राष्ट्रिय अभ्यास र नेपालको नीतिगत सम्भावना
विश्वका विभिन्न देशमा धितो तथा औपचारिक कर्जा इतिहास नभएका साना उद्यमीको कर्जा मूल्यांकनमा साइकोमेट्रिक परीक्षण प्रयोग हुँदै आएको छ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले सन् २०२२ मा नेपालको वित्तीय क्षेत्रमा यसको परीक्षण पहल गरेका थिए । विश्व बैंकको सन् २०१७ को पेरुसम्बन्धी अनुसन्धान तथा आईएएसीको सन् २०२५ को प्रतिवेदनले पनि यसको उपयोगिता उजागर गरेका छन् । यी अन्तर्राष्ट्रिय अनुभवले व्यवहारगत सूचनाबाट कर्जा जोखिम पहिचान गर्न सकिने देखाउँछन् । नेपाल राष्ट्र बैंकको २०८३ भाद्र ११ को निर्देशनले समेत यसको नीतिगत आधार दिएको छ । अब चुनौती प्रभावकारी कार्यान्वयन हो ।
परम्परागत कर्जा मूल्यांकनका सीमा र साइकोमेट्रिक प्रणालीको औचित्य
नेपालका लघुवित्त संस्थाहरूमा सामूहिक जमानी, स्थलगत अध्ययन, आम्दानीको अनुमान र सदस्यको व्यक्तिगत पहिचानका आधारमा कर्जा निर्णय हुने गरेको छ । तर, सहरीकरण, बसाइँसराइ, बहुकर्जा र समूहगत उत्तरदायित्वमा आएको परिवर्तनले परम्परागत प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ । कतिपय ऋणीले विभिन्न संस्थाबाट कर्जा लिने र एउटा कर्जाको किस्ता अर्को कर्जाबाट तिर्ने प्रवृत्तिले ऋणभार बढाएको छ । अर्कोतर्फ, धितो वा औपचारिक आम्दानीको प्रमाण नभएका तर व्यवसाय सञ्चालन गर्ने क्षमता र राम्रो वित्तीय अनुशासन भएका व्यक्तिहरू पनि कर्जा पहुँचबाट वञ्चित हुन सक्छन् ।
यस्तो अवस्थामा साइकोमेट्रिक स्कोरिङले ऋणीको व्यवहारगत विशेषता पहिचान गर्न थप आधार दिन्छ । विशेषगरी आर्थिक क्षमता हुँदाहुँदै पनि नियतवश कर्जा भुक्तानी नगर्ने सम्भावना भएका ऋणीको जोखिम विश्लेषण, नयाँ सदस्यको मूल्यांकन, कर्जा अधिकृतको व्यक्तिपरक निर्णय न्यूनीकरण र ऋणीको वित्तीय अनुशासन परीक्षणमा यसले सहयोग गर्न सक्छ । यद्यपि, कुनै व्यक्तिको व्यवहारगत स्कोरका आधारमा मात्र उसको कर्जा भुक्तानी क्षमता वा भविष्यको व्यवहार निश्चित गर्न सकिँदैन ।
नेपालमा लागू गर्न आवश्यक प्रश्नावली तथा स्कोरिङ संरचना
नेपालका लघुवित्त संस्थाहरूका लागि स्थानीय सामाजिक, आर्थिक, भाषिक र सांस्कृतिक परिवेशअनुकूल वैज्ञानिक प्रश्नावली तयार गर्नुपर्छ । यसमा इमानदारी तथा नैतिकता, वित्तीय अनुशासन, निर्णय क्षमता, व्यवसाय सञ्चालन क्षमता, जोखिम व्यवस्थापन, जिम्मेवारीबोध, समस्या समाधान र आत्मनियन्त्रणजस्ता विषय समावेश गर्न सकिन्छ । उदाहरणका लागि, व्यवसायमा आम्दानी घट्दा खर्च कसरी व्यवस्थापन गर्नुहुन्छ, आकस्मिक आर्थिक समस्या पर्दा कस्तो निर्णय लिनुहुन्छ, ऋणको किस्ता तिर्न कठिनाइ भएमा के गर्नुहुन्छ र व्यवसायमा घाटा हुँदा कस्तो विकल्प रोज्नुहुन्छ भन्ने प्रश्न सोध्न सकिन्छ ।
प्रारम्भिक नमुनाका रूपमा २० देखि ३० वटा संरचित प्रश्न समावेश गरी प्रत्येक उत्तरलाई १ देखि ५ अंकसम्म मूल्यांकन गर्न सकिन्छ । सकारात्मक तथा नकारात्मक प्रकृतिका प्रश्नमा आवश्यकताअनुसार प्रश्न सकारात्मक वा नकारात्मक ढङ्गले सोधिएको छ भन्ने आधारमा अंक निर्धारण गर्नुपर्छ । नकारात्मक रूपमा सोधिएका प्रश्नमा आवश्यकतानुसार उल्टो अंक प्रयोग अपनाउनुपर्छ । सबै प्रश्नको अंकभार समान राख्नुभन्दा परीक्षणबाट प्रमाणित महत्वअनुसार भार निर्धारण गर्नु उपयुक्त हुन्छ । प्राप्त स्कोरका आधारमा न्यून, मध्यम र उच्च जोखिम समूह वर्गीकरण गर्न सकिन्छ । तर, जोखिम वर्गीकरणको सीमा वास्तविक कर्जा भुक्तानी तथ्यांक र सांख्यिकीय परीक्षणबाट निर्धारण हुनुपर्छ । यसरी तयार गरिएको स्कोरलाई आम्दानी, ऋणभार, नगद प्रवाह र कर्जा इतिहाससँग जोडेर मात्र अन्तिम कर्जा निर्णय गर्नुपर्छ ।
डिजिटल प्रविधि र कर्जा व्यवस्थापन प्रणालीसँग एकीकरण
यस प्रणालीलाई प्रभावकारी बनाउन मोबाइल एप, ट्याब्लेट वा वेबमा आधारित डिजिटल प्लेटफर्म वा भौतिक कागजातबाट समेत गर्न सकिन्छ । कर्जा अधिकृतले ऋणीसँग प्रत्यक्ष संवाद गरी प्रश्नावली भर्न सक्ने र प्रणालीले स्वतः अंक गणना तथा जोखिम प्रोफाइल तयार गर्ने व्यवस्था आवश्यक छ । प्राप्त नतिजालाई संस्थाको व्यवस्थापन सूचना प्रणाली, कर्जा व्यवस्थापन प्रणाली (कोर बैंकिङ) कर्जा सूचना केन्द्रको अभिलेख, ऋणीको विगतको भुक्तानी विवरण, आम्दानी तथा खर्च विश्लेषण र कर्जा मूल्यांकन प्रक्रियासँग जोड्न सकिन्छ ।
यसमा कृत्रिम बौद्धिकता तथा तथ्यांक विश्लेषण प्रविधि सहायक हुन सक्छन् । तर, सुरुदेखि नै जटिल कृत्रिम बौद्धिकता प्रणालीमा निर्भर हुनुभन्दा प्रमाणित प्रश्नावली, पारदर्शी स्कोरिङ मापदण्ड र परीक्षणयोग्य एल्गोरिदमबाट सुरु गर्नु व्यावहारिक हुन्छ । प्रणालीले स्कोर मात्र नभई मूल्यांकनका आधार, सम्भावित जोखिम र पुनरावलोकन आवश्यक पर्ने विषयसमेत देखाउन सक्नुपर्छ । ऋणीको स्पष्ट सहमति र पर्याप्त कानुनी आधारबिना मोबाइल रिचार्ज, फोन सम्पर्क वा अन्य व्यक्तिगत डिजिटल विवरण संकलन गरी स्कोरिङमा प्रयोग गर्नु हुँदैन ।
कार्यान्वयनका चुनौती र जोखिम नियन्त्रण
नेपालमा यसको कार्यान्वयन गर्दा डिजिटल साक्षरता, भाषिक विविधता, कर्मचारीको दक्षता, तथ्यांक सुरक्षा र सामाजिक स्वीकार्यताजस्ता चुनौती आउन सक्छन् । विशेषगरी ग्रामीण महिलालाई प्रश्नावली बुझ्न र उत्तर दिन सहयोग आवश्यक पर्न सक्छ । त्यसैले स्थानीय भाषामा प्रश्नावली तयार गर्ने, कर्मचारीलाई विशेष तालिम दिने र प्रश्न सोध्ने क्रममा उत्तरलाई प्रभावित पार्ने व्यवहार रोक्ने व्यवस्था गर्नुपर्छ । ऋणीको मनोवैज्ञानिक तथा व्यक्तिगत विवरणलाई गोप्य राख्ने, आवश्यक सहमति लिने र तथ्यांकको दुरुपयोग रोक्ने स्पष्ट नीति आवश्यक छ ।
त्यसैगरी, लिङ्ग, जातीयता, धर्म, उमेर, शिक्षा वा भौगोलिक अवस्थाका आधारमा विभेद हुने प्रश्न तथा मापदण्ड राख्नु हुँदैन । कम स्कोर आएको आधारमा मात्र कर्जा अस्वीकार गर्ने वा उच्च स्कोरलाई कर्जा स्वीकृतिको स्वतः आधार बनाउने प्रणाली पनि उचित हुँदैन । स्कोरिङले कर्जा अधिकृतको निर्णयलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइन । यसको पूर्वानुमान क्षमता, निष्पक्षता र प्रभावकारिता नियमित रूपमा परीक्षण गर्नुपर्छ ।
नीतिगत कार्यदिशा : राष्ट्रिय स्तरको साझा प्रणाली विकास गरौँ
नेपालमा यसको प्रभावकारी कार्यान्वयनका लागि साझा निर्देशिका, नमुना प्रश्नावली र स्कोरिङ मापदण्ड विकास गर्न आवश्यक छ । यसमा लघुवित्त विज्ञ, मनोविज्ञानविद्, तथ्यांकविद्, सूचना प्रविधि विशेषज्ञ र जोखिम व्यवस्थापन विज्ञ सहभागी गराउनुपर्छ । कर्जा सूचना केन्द्रको प्राविधिक तथा संस्थागत क्षमताको उपयोग गरी एकीकृत स्कोरिङ प्लेटफर्म विकास गर्न सकिन्छ । सुरुमा विभिन्न भौगोलिक क्षेत्र र आकारका केही लघुवित्त संस्थामा परीक्षण परियोजना सञ्चालन गरी नतिजालाई वास्तविक कर्जा भुक्तानी व्यवहारसँग तुलना गर्नुपर्छ । परीक्षणबाट प्राप्त अनुभवका आधारमा प्रश्नावली, अंकभार र जोखिम वर्गीकरण परिमार्जन गरेर क्रमशः विस्तार गर्न सकिन्छ ।
साथै, संस्थाहरूले आफ्नो कर्जा नीति, आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन निर्देशिका र कर्मचारी कार्यसम्पादन प्रणालीमा यसलाई समावेश गर्नुपर्छ । यसको प्रभावकारिता मापन गर्न खराब कर्जा, समयमै किस्ता भुक्तानी, कर्जा असुली लागत, नयाँ ऋणीको पहुँच र ऋणीको ऋणभारमा आएको परिवर्तनको नियमित अध्ययन गर्नुपर्छ ।
सही ऋणीको पहिचान नै दिगो लघुवित्तको आधार
नेपालको लघुवित्त क्षेत्र अब कर्जा विस्तारभन्दा कर्जाको गुणस्तर, वित्तीय अनुशासन र संस्थागत स्थायित्वलाई प्राथमिकता दिनुपर्ने चरणमा पुगेको छ । साइकोमेट्रिक क्रेडिट स्कोरिङले ऋणीको आर्थिक क्षमतासँगै उसको व्यवहार, इमानदारी, जिम्मेवारीबोध र वित्तीय अनुशासनको थप जानकारी उपलब्ध गराउन सक्छ । यसलाई कर्जा सूचना, नगद प्रवाह विश्लेषण, ऋणीको ऋणभार, व्यवसायको सम्भाव्यता र विगतको भुक्तानी व्यवहारसँग एकीकृत गर्न सकेमा कर्जा निर्णय अझ प्रभावकारी बन्न सक्छ ।
अन्ततः लघुवित्तको सफलता कति कर्जा वितरण गरियो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । कति सही ऋणीलाई कर्जा दिइयो, कति उद्यम सफल भए, कति परिवारको आर्थिक अवस्था सुधार भयो र संस्थाको वित्तीय स्थायित्व कति सुरक्षित रह्यो भन्ने आधारमा मूल्यांकन हुनुपर्छ । कर्जा दिनुअघि ऋणीको आर्थिक क्षमता मात्र होइन, उसको व्यवहार र जिम्मेवारीबोधसमेत बुझ्ने प्रणाली विकास गर्न सकेमा यो प्रणाली नेपालको लघुवित्त क्षेत्रलाई सुरक्षित, समावेशी र दिगो बनाउने महत्वपूर्ण औजार बन्न सक्छ ।