काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खराब कर्जा असुलीमा विशेष ध्यान दिन बैक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिए । साथै, उनले अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे । उनले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा पनि जोड दिए ।
सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरे । बैंकको काम कारबाही पारदर्शी बनाइ जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्यांकको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवद्र्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको दाबी गरे । उनका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड, निक्षेप चार खर्ब १६ अर्ब र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात चार दशमलव १८ प्रतिशत, ग्राहक संख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० रहेको उनले जानकारी दिए । त्यसैगरी, बैंकका २५० वटा एटीएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङका ग्राहक संख्या १० लाख पुगेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले बताए ।