काठमाडौं, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा तीन करोड तीन लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा कम्पनीले उल्लेख्य वित्तीय सुधार गर्दै घाटाबाट नाफामा फड्को मारेको हो ।
कम्पनीको बीमा व्यवसायमा समेत विस्तार भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क ७२ करोड ४१ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा यस्तो बीमाशुल्क ५८ करोड ७८ लाख रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको कुल आर्जित बीमाशुल्कमा उल्लेख्य वृद्धि भएको छ । यसैगरी कम्पनीको खुद आर्जित बीमाशुल्क पनि बढेको छ । गत आवको पहिलो त्रैमासमा २४ करोड १२ लाख रुपैयाँ रहेको खुद आर्जित बीमाशुल्क चालु आवको सोही अवधिमा बढेर ३४ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको कमिसन आम्दानीमा पनि सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा १२ करोड ७२ लाख रुपैयाँ कमिसन आम्दानी गरेको कम्पनीले चालू आवको समीक्षा अवधिमा १५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको कुल सम्पत्ति समेत बढेको छ । गत आवको अन्त्यमा १४ अर्ब ६० करोड २९ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालू आवको पहिलो त्रैमाससम्म आइपुग्दा बढेर १५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख रुपैयाँ रहेको छ भने कुल इक्विटी पाँच अर्ब ४३ करोड १३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ । गत आवको पहिलो त्रैमासमा २७ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको समीक्षा अवधिमा बढेर चार रुपैयाँ कायम भएको छ ।