काठमाडौं, प्रहरीले अन्तर्राष्ट्रिय लागुऔषध कारोबारका मुख्य नाइके रहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो सेतो हेरोइनसहित भारतको महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राय गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका तिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा मुख्य भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको साथबाट बरामद हेरोइनको नेपाली बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
थाइल्यान्डबाट नेपाल आएका तिघारेले लागुऔषध लुकाउन बिरालोको खानाको प्याकेट प्रयोग गरेका थिए । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलमा जाँच गर्ने क्रममा उनको लगेजभित्र शंकास्पद अवस्थामा राखिएका प्याकेटबाट हेरोइन फेला पारेको थियो ।
ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले तिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा मुख्य भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनी थाइल्यान्डबाट नेपाल हुँदै भारतसम्म लागुऔषध पुर्याउने गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ । तिघारे यसअघि पनि लाओस हुँदै दुई पटक नेपाल आएको र नेपाललाई भारतसम्म लागुऔषध पुर्याउने मार्गका रूपमा प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार बरामद हेरोइनको मूल्य नेपाली बजारमा प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पर्छ । भारत पुर्याएर बिक्री गर्दा यसको मूल्य अझ बढी हुने प्रहरीको भनाइ छ । पक्राउ परेका तिघारेको साथबाट मेकानिकल इन्जिनियरिङको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
थाइल्यान्डबाट विमानस्थलबाट नेपाल प्रवेश र नेपालबाट भारतसम्म लागुऔषध पुर्याउने गरिएको प्रहरीको अनुमान छ । पक्राउ परेका तिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । उक्त ऐनअनुसार कसुरको प्रकृति र बरामद लागुऔषधको परिमाणका आधारमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।