एक राष्ट्रिय धाक व्यक्तित्व हुनुहुन्छ नवजागरण आलोकित नारी साहित्यकार महिला नेतृ मनिषी कुन्ता शर्मा । म भन्दा लगभग एक दशक जेठी । ८० को हाराहारीमा हिँडीरहनुभएको छ । सगरमाथाको बेँसी धरानमा जन्मेर एउटा गौरवशाली उदाहरणीय र अनुकरणीय राष्ट्रिय चिनारी बनाउनुभएको छ । ‘पोथी बास्नु हुन्न’ र ‘धातु’ विसं. २०४२ सालमा लेख्नुभएको दुइटा कविता आज ०८३ साल चार दशक पार हुँदासम्म पनि झन्झन् थप सामयिक र लोकप्रिय (जनजनका मन) हुँदै अहिले विकसित सामाजिक सञ्जाल, गुगल, युट्युब आदि इत्यादिमा पनि विश्वव्यापी (जहाँजहाँ नेपाली छन्) भाइरल भेटिनु उहाँ कति ‘दूरद्रष्टा सर्जक महिला नेतृत्व’ हुनुहुन्छ भन्ने सहजै अनुमान हुन सक्छ । ‘सर्जक’ सँगसँगै ‘नेतृ’ पनि चिनारी हुनु कारण उहाँ ०५६ को निर्वाचनमा एमालेको टिकटमा सुनसरी चुनाव क्षेत्रबाट विजयी सांसद पनि हुनुभएको थियो । एम् ए सकेर वकालत पास गर्नुभएकी कुन्ता शर्माको धेरैजसो जीवन सङ्घर्ष शिक्षा क्षेत्र (पेन्सनवाली शिक्षिका) मा बितेको भए पनि पुष्पलाल, मनमोहन अधिकारीले चिनारी दिएका कम्युनिस्ट आन्दोलनप्रति भने १३ वर्षको उमेरदेखि नवजागरण पसेर आजीवन प्रतिबद्ध बताउनु हुन्छ र अहिलेका झले माधवेहरूलाई उहाँ ‘कम्युनिस्ट’ नै मान्नुहुन्न । आफ्नै पसिनाको कमाइबाट आत्मनिर्भर अर्थतन्त्र बाँच्नुभएकी आस्था, विश्वास, नीति, सिद्धान्त, विचारधारा, मूल्य, मान्यता, नैतिकता, विवेकबाट कहिल्यै एक रौँ बराबर पनि विचलित नभएकै कारण यतिखेर प्रधानमन्त्री बालेन शाहलाई डंकाको चोटले भनिरहनु भएकी भेटिनुहुन्छ कि, ‘मेरो पनि सम्पत्ति छनबिन गर र बहुदल आए यता (खासगरी ०५१ को मध्यावधि यता) का सबै सांसद, मन्त्री, प्रधानमन्त्री भएकाहरूको श्रोत नखुलेका सम्पत्ति (कालो धन) खोस र शिक्षा र कृषिमा लगानी गर । ०४५ सालसम्मका हाम्रा ‘धान चामल निर्यात कम्पनी’ का सरकारी साइनबोर्डहरू फेरि पुनर्जीवित गर । कमसेकम बिहान बेलुकाको दुई छाक आफ्नै (नेपाल) उत्पादनबाट गुजारा सम्भव नभएसम्म आजको विश्वमा सार्वभौमिकता गिन्ति सम्भव हुन्न ।’
पछिल्लो चरण प्रधानमन्त्री बालेन शाह कालखण्डको सामाजिक सञ्जालको एल्गोरिदममा भाइरल हुन आइपुग्नु भएकी बौद्धिक परिपक्व पाको मनिषी नारी कुन्ता शर्माको माथि उल्लिखित हरफ वाणी नियालेर विचार गर्दा कतै पनि विमतिको ठाउँ छैन । आजको विश्वमा एक्काइशौँ शताब्दीको एआई हाइहाइ विश्व अर्डर चलिरहेको समयमा कमसेकम बिहान बेलुकाको दुई छाकमा आत्मनिर्भर नहुँदासम्म सार्वभौमिकता गिन्ति नहुने ‘कुन्ता ठहर’ एकदम साँचो सत्य ठहर हो । तसर्थ यदि सार्वभौमिकता जोगाइ रहने हो भने सबैभन्दा पहिलो काम दुई छाक आफ्नै उत्पादनले धान्ने कृषि प्रणालीमा जानै पर्छ । यदि वर्तमान हाम्रो राज्यसत्ता अलिकति पनि देश, जनता, प्रणालीप्रति इमान्दार प्रतिबद्ध रहने हो भने कुन्ता शर्माले देखाउनुभएको दुई छाक धान्ने उत्पादन लक्षमा पुग्न कुनै गार्हो काम छैन । मात्र राज्यसत्ता हाँक्ने नेतृत्वमा पुगेकाको अठोट र इमान्दारिता अनिवार्य हुनुपर्छ ।
यतिखेर मुलुकका ६४% उब्जाउ भूमि बाँझै छन् । ३ करोड जनसङ्ख्याका ८० लाख बलिया पाखुरी खाडी मुलुक (विदेश) मा कामदार हुन लखेटिएका छन् । ग्रामीण बस्तीका ८ लाख घरहरू खण्डहरमा रूपान्तरण भएका छन् । पाइला पाइलामा बगिरहने खोला नदीका पानी बिजुलीको सहयोगमा उल्लिखित बाँझो जमिनमा सिँचाइ पुर्याएर आधुनिक कृषि प्रणालीको चिनियाँ अनुभवबाट पाठ सिकेर ५ वर्ष मात्रै इमान्दारीपूर्वक सिङ्गापुरका लिक्वान यू शैलीमा काम गर्ने हो भने आफूले (नेपाल) खाएर नसकिने बिहान बेलुकाको छाक उत्पादन हुने पक्का छ । त्यस हालतमा विदेश लखेटिएका बलिया पाखुरी फर्केर पनि कामदार नपुगेर अन्य मुलुकबाट थप कामदार झिकाउने अवस्थामा पुगिने निश्चित छ ।
तथ्यमा आज हाम्रो मुलुक नेपाल आर्थिक रूपमा दिवालीया अवस्थामा पुगेको ८३ प्रतिशत बिहान बेलुका छाक आयातमा निर्भर ३२ खर्ब वैदेशिक ऋण तिर्न पनि ऋणै भने पछि कुन्ता शर्माका अनुसार सार्वभौमिकता पनि आईसीयूमा घिटीघिटी अवस्थामै पुगेको छ । राजनीतिक नवजागरणको एउटा शिखर टेकेकी आम जेन्जी जेन अल्फा पुस्ताकी हजुरआमा, बुढी हजुरआमा हामी ७० कटेकाकी सहृदयी दिदी कुन्ता शर्माका देशको भविष्य सुध्रने यस खालका गहन घतलाग्दा कुरा वाणी सुन्दै गर्दा महाभारत कथाको युधिष्ठिर प्रसङ्ग स्मृतिमा ताजा हुन आइपुग्यो । कुरुक्षेत्रको कौरव पाण्डव युद्धमा एउटै पुर्खाका भाइले दाइलाई, छोराले बाउलाई, स्वास्नीले लोग्नेलाई काटीरहेका थिए, मारीरहेका थिए चारैतिर बन्धु बान्धव आपसमा काटमार हत्या हिंसा रक्तपातको आर्तनाद कोलाहल मच्चिरहेको थियो । यति हुँदाहुँदै पनि युद्धभूमिको कतै एउटा कुनामा ‘युधिष्ठिरले झुटो बोल्दैनन्’ भन्ने एउटा आस्था, नीति, विवेकको दीयो बलिरहेको थियो । भविष्यका लागि उज्यालोको प्रकाश छरिरहेको उमारीरहेको थियो । सनातन कालदेखि या भनौँ सत्य युगदेखि नै हरेक समाज हरेक देश बाँचीरहेका अगाडि बढेर प्रगति उन्नति गरिरहेका नै त्यस समाज त्यस देशमा कतै न कतै युधिष्ठिरहरू दीयो बालिरहेका उज्यालो प्रकाश छरिरहेका उमारिरहेका हुने भएरै हो । र कुन्ता शर्मा आजको हाम्रो समाज देशकी युधिष्ठिर हुन् र कुन्ता शर्मा जस्ता आस्था, नीति, विवेकको बलिरहेको दीयोले नै भावी उन्नति प्रगतिको बाटो देखाइरहने हो । र नेपालमा कुन्ता शर्मा जस्ता ‘झुटो नबोलेर’ आस्था, नीति, विवेकको दीयो बालिरहने युधिष्ठिरहरू अनगिन्ती धेरै छन् भन्ने मेरो विश्वास र मान्यता छ ।
ऋषि धमलादेखि विजयकुमार पाण्डे, टिकाराम यात्री, सुधीर शर्मा आदि इत्यादि चरित्र प्रवृत्तिको पत्रकारिता राजनीतिक क्षेत्रका ओली, प्रचण्ड, देउवा, माधव, बाबुराम नाङ्गिएर सकिएका जस्तै १२ भाइको चिनारी पाएका पत्रकार जगतले रामकुमारी झाक्री, पद्मा अर्याल, डीना उपाध्याय, पम्फा भूषाल, रामहरि खतिवडा जस्ता आदि इत्यादिका अन्तरवार्ताबाट सामयिक राजनीतिक संकटको निकास खोज्ने जाँगर शैलीको पत्रकारिता त अब ओली, देउवा, प्रचण्डका कुँडाकर्कट थान्को लागिसकेको छ । यस्ता पत्रकारिताको अब कुनै काम छैन । तथापि विगत १० वर्षको पत्रकारिता, राजनीतिक अभ्यासमा रवि लामिछाने, बालेन्द्र शाह हुर्किए जस्तै टंक दाहाल, प्रदीप माझी, उमेश सुवेदी जस्ता आदि इत्यादि योग्य, इमान्दार, इनोसेन्ट हिसाबले विश्वास भरोषा गर्न सकिने पत्रकारिता पनि सशक्त ढङ्गले नै हुर्किरहेको देखिँदै भेटिँदै छ । समयले खोजेको विचारधारा र मागअनुसार नवजागरण पनि अनिवार्य उम्रने हुर्कने स्वाभाविक प्रकृति नै हो । हो यस चरणका पछिल्ला नवजागरणयुक्त जाँगरिला पत्रकारले लुकेका र लुकाइएका राष्ट्रका धरोहर मार्गदर्शक व्यक्तित्व नेतृत्वहरूलाई खोजीखोजी एआई जमानाको सामाजिक सञ्जालमा चिनारी ल्याउने गरेका, यसलाई मैले धेरै राम्रो काम ठानेको छु । यस्तै काममध्ये पत्रकार प्रदीप माझीले आफ्नो युट्युब खबर पर्दामा कुन्ता शर्मालाई ल्याइदिएका कारण नै मलाई यस खालको पाठ्यक्रम अभिलेख गर्न सुविधा उपलब्ध भएको हो ।
कुन्ता शर्माको चिनारी सरसरी हेर्दा क्याम्पस पढ्दा अखिलकी उम्मेदवार बन्न खोज्दा मातापिताबाट अवरोध भएर नोमिनेसन फिर्ता लिनु परे पनि आजीवन ओली, माधव, मदन भण्डारी, राधाकृष्ण मैनाली, सीपी मैनाली आदि इत्यादि जस्ता कम्युनिस्ट नेताहरूलाई भात खुवाउन सेल्टर दिन भने छोड्नु भएन । माओवादी आउनु अघि ५ वर्ष निर्वाचित सांसद भएर भूमिका खेल्नुभएको माथि पनि आइसकेकै छ । मेरो भन्नुको तात्पर्य सिद्धान्त विचारधाराप्रतिको आस्था निष्ठा जोगाएर यो ८० कटेको उमेरमा बटुल्नु भएका अनुभवजन्य सिद्ध वाणीहरू भावी पुस्तालाई अगाडिको बाटो हिँड्न मार्गदर्शक उज्यालो (लाइट) हुने पक्का छ । त्यसै कारण नै पत्रकार प्रदीप माझीले सोधेका सामयिक प्रश्नमा कुन्ता दिज्यूले दिनुभएको एकदुई उत्तरलाई उदाहरण स्वरूप प्रस्तुतिको कोसिस गरेको हुँ ।
बालेन सरकार कसरी आयो ? र यो कहिलेसम्म टिक्ला ? भन्ने प्रदीप माझीको प्रश्नमा कुन्ता शर्माले दिनुभएको उत्तर अत्यन्त सारगर्भित सत्य छर्लङ्ग जानकारी हुने खालको छ । उहाँले सटिक उत्तर दिनुभएको छ । ‘कसरी आयो ?’ भन्ने प्रश्नमा भन्नु हुन्छ, ‘विगत ३२ वर्ष (०५१ को मध्यावधि यता) को दलीय राजनीतिमा वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म जति पनि सत्ताधारी जनप्रतिनिधि भए ती सबै पूर्ण रूपमा ‘पैसा तान्ने मेसिन’ मात्र भए । परिणाम पैसाका लागि देश बेचेका (लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्साभित्र) जनता लुटेका (नक्कली भुटानी शरणार्थी, सहकारी ठगी जस्ता अनगिन्ती काण्ड घोटालाहरू) देख्नु भोग्नु परेर जनआक्रोश र विद्रोह सुकेको दाउराको थुप्रोमा मट्टीतेल खनाएको जस्तो अवस्थामा पुगेका बखत जेन्जी आन्दोलनको सलाइको काँटी सल्किनुका कारण पुराना दल (कांग्रेस, एमाले, राप्रपा, माओवादी, मधेशवादी आदि इत्यादि)हरू खरानी भएर रवि लामिछाने, बालेन शाहको उदय भएको हो ।’
‘कहिले सम्म टिक्ला ?’ भन्ने प्रश्नमा उहाँको उत्तर हुन्छ, ‘बालेनहरूलाई म माधव, प्रचण्ड, देउवाले ‘भुइँफुट्टा’ भनेका जस्ता ठान्दिनँ । ‘भुइँफूल’ का रूपमा लिएकी छु जसका जरा अहिले धेरै गहिरो र परसम्म फैलिन पाएको छैन । यस्तोमा सानोतिनो गड्याङ्गुडुङ् हुरीबतासले पनि बढारिने सम्भावना रहीरहन्छ । मेरो अर्थमा बालेन सरकार ५ वर्ष १० वर्ष जानुपर्छ । त्यसपछि मात्र रिजल्ट हेरेर मूल्यांकन गर्नुपर्छ । विगत ३२ वर्ष पैसा तान्ने मेसिन मात्र भएका सत्ताधारी दलहरूका सम्पूर्ण अभियुक्तका श्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गरेर त्यो धनराशी ‘१० कक्षासम्म निःशुल्क अनिवार्य शिक्षा’ नीतिमा र बिहान बेलुका छाक पुग्ने कृषि उत्पादनमा लगानी गर्न थाल्ने हो भने बालेन सरकार ५/१० वर्ष मात्र होइन २०/२५ वर्षसम्म पनि जान सक्छ ।’ अस्तु ।