काठमाडौं, मेट लाइफ नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा पाँच करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा खुद नाफा ४६ दशमलव शून्य नौ प्रतिशतले घटेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले नौ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले एक अर्ब ८६ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको एक अर्ब ६६ करोड ४२ लाख रुपैयाँको तुलनामा १२ दशमलव १९ प्रतिशतले बढी हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ११ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ७८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले एक अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको जीवन बीमा कोषको आकार समेत बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालू आवको सोही अवधिमा १२ दशमलव ३५ प्रतिशतले बढेर ३४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ । वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी नौ दशमलव शून्य आठ प्रतिशतले बढेर दुई अर्ब ५५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी दुई अर्ब ३४ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
तर, आम्दानीको तुलनामा खर्च वृद्धि उच्च देखिएको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२ दशमलव ४६ प्रतिशतले बढेर दुई अर्ब ४१ करोड चार लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च दुई अर्ब १४ करोड ३४ लाख रुपैयाँ थियो । वित्तीय विवरणअनुसार महाविपत्ति कोषमा ६५ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, रिटेन्ड अर्निङमा दुई अर्ब ६३ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा एक अर्ब ३२ करोड २४ लाख रुपैयाँ रहेको छ ।