काठमाडौं, ओरिएन्टल इन्स्योरेन्स कम्पनी चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा ३२ करोड ६० लाख रुपैयाँ घाटामा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको घाटा बढेको हो । गत आवको पहिलो त्रैमाससम्म कम्पनी २८ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको थियो । यसअनुसार समीक्षा अवधिमा कम्पनीको घाटा चार करोड १२ लाख रुपैयाँले बढेको हो ।
यद्यपि, कम्पनीको बीमाशुल्क आर्जनमा भने उल्लेख्य सुधार देखिएको छ । चालु आवको पहिलो तीन महिनामा कम्पनीले ५२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा २१ दशमलव २२ प्रतिशतको वृद्धि हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २१ दशमलव ३४ प्रतिशतले बढेर ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको यस्तो आर्जन २८ करोड आठ लाख रुपैयाँ रहेको थियो । बीमाशुल्क आर्जनमा वृद्धि भए पनि कम्पनीको पुनर्बीमा खर्चसमेत बढेको छ । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमाका लागि २१ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च १५ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।
वित्तीय विवरण अनुसार सेयर प्रिमियममा एक अर्ब ८८ करोड ७३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा २९ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको अन्य इक्विटी ९२ करोड ९५ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यसैगरी, कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात दुई दशमलव ७३ प्रतिशत रहेको छ । बीमाशुल्क आर्जनमा सुधार देखिए पनि घाटा बढ्नु र पुनर्बीमा खर्च उच्च हुनु कम्पनीका लागि चुनौतीका रूपमा देखिएको छ ।