काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा खुद नाफा १० दशमलव ६५ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफामा गिरावट आए पनि कम्पनीको बीमा व्यवसाय र बीमाशुल्क संकलनमा भने उल्लेख्य वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीले कुल एक अर्ब ८६ करोड २७ लाख रुपैयाँ आर्जित बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम एक अर्ब ५१ करोड ३७ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, कम्पनीको खुद आर्जित बीमाशुल्क पनि बढेर एक अर्ब ७७ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले एक अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद आर्जित बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको प्रथम बीमाशुल्क संकलनमा समेत उल्लेख्य सुधार देखिएको छ । चालू आवको पहिलो तीन महिनामा कम्पनीले ६२ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा यस्तो रकम ४२ करोड ७० लाख रुपैयाँ मात्रै थियो । त्यस्तै, कम्पनीको नवीकरण बीमाशुल्क संकलन एक अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको छ । बीमा व्यवसाय विस्तारसँगै कम्पनीको कुल आम्दानी र खर्च दुवैमा वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले दुई अर्ब ३३ करोड ६५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी एक अर्ब ६७ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
यसैगरी, कम्पनीको कुल खर्च बढेर दुई अर्ब नौ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च एक अर्ब ४३ करोड ४४ लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७३ पैसा कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १९ रुपैयाँ ९० पैसा रहेको थियो । चालू आवको असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी पाँच अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा तथा अन्य कोषसहित कम्पनीको कुल इक्विटी सात अर्ब ९३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
बीमालेख जारी गर्ने संख्यामा पनि कम्पनीले प्रगति गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले ९७ हजार आठ सय ९६ वटा नयाँ बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८१ हजार एक सय १६ वटा नयाँ बीमालेख जारी गरेको थियो ।