काठमाडौं, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १५ करोड २ लाख आठ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा छ लाख रुपैयाँले बढेको हो ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ रुपैयाँ ९३ पैसा रहेको प्रतिसेयर आम्दानी चालू आवको सोही अवधिमा बढेर ११ रुपैयाँ ९८ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जनमा भने उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीले पहिलो त्रैमासमा कुल दुई अर्ब २७ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन २३ दशमलव तीन प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर दुई अर्ब १९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम एक अर्ब ७८ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी दुई अर्ब ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ भने कुल खर्च दुई अर्ब ५० करोड ६१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति बढेर ३३ अर्ब ८८ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल सम्पत्ति ३२ अर्ब २६ करोड ८६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको कुल इक्विटी पाँच अर्ब ९२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।