काठमाडौं, चालू आर्थिक वर्षको पहिलो तीन महिनामै निर्जीवन बीमा कम्पनीहरूले साढे १५ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । असोज मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल १५ अर्ब ५४ करोड ५१ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा उनीहरूले आठ लाख ३६ हजार ७४ वटा बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा बजारमा बीमाशुल्क आर्जनको प्रतिस्पर्धा तीव्र देखिए पनि कम्पनीहरूबीचको व्यावसायिक प्रदर्शनमा ठूलो अन्तर देखिएको छ । बीमाशुल्क आर्जनमा सगरमाथा इन्स्योरेन्स कम्पनी (सलिको) पहिलो स्थानमा रहँदा शिखर इन्स्योरेन्स दोस्रो स्थानमा छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स तेस्रो स्थानमा रहँदा एनएलजी इन्स्योरेन्स चौथो स्थानमा छ ।
प्राधिकरणका अनुसार सगरमाथा इन्स्योरेन्स (सलिको) ले असोज मसान्तसम्ममा ७८ हजार सात सय ९२ वटा बीमालेख जारी गरी एक अर्ब ८३ करोड ५३ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । बीमालेख जारी गर्ने संख्यामा भने कम्पनीभन्दा अगाडि रहेका प्रतिस्पर्धीलाई पछि पार्दै सलिकोले बीमाशुल्क आर्जनमा पहिलो स्थान सुरक्षित गरेको हो । त्यस्तै, शिखर इन्स्योरेन्सले एक लाख दुई हजार तीन सय १२ वटा बीमालेख जारी गरी एक अर्ब ७९ करोड ३६ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । बीमालेख जारी गर्ने संख्याका आधारमा शिखर पहिलो स्थानमा रहे पनि बीमाशुल्क आर्जनमा भने सलिकोभन्दा पछाडि परेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक लाख एक हजार आठ सय २५ वटा बीमालेख जारी गरी एक अर्ब ६० करोड ९९ लाख २० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले ७१ हजार छ सय ३६ वटा बीमालेख जारी गरी एक अर्ब ४९ करोड १८ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ७७ हजार आठ सय ९७ वटा बीमालेख जारी गरी एक अर्ब ३३ करोड चार लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७४ हजार ७१ वटा बीमालेख जारी गरी एक अर्ब ३१ करोड ९५ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ८७ हजार एक सय १५ वटा बीमालेख जारी गरी एक अर्ब १५ करोड १८ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्सले १६ हजार तीन सय पाँच वटा बीमालेख जारी गरी ९८ करोड २४ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सले ९५ हजार चार सय ४६ वटा बीमालेख जारी गरी ९६ करोड २० लाख ५० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले पनि ४९ हजार पाँच सय ९८ वटा बीमालेख जारी गरी ८२ करोड ४१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्सले ३६ हजार सात सय २३ वटा बीमालेख जारी गरी ७१ करोड ८३ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले ३० हजार नौ सय तीन वटा बीमालेख जारी गरी ५३ करोड २८ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीले पाँच हजार दुई सय ९० वटा बीमालेख जारी गरी ५० करोड ७४ लाख १५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल इन्स्योरेन्सले आठ हजार एक सय ६१ वटा बीमालेख जारी गरी ४७ करोड ८८ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणको तथ्यांकले निर्जीवन बीमा बजारमा कम्पनीहरूबीच बीमाशुल्क आर्जन र बीमालेख जारी गर्ने संख्यामा फरकफरक प्रतिस्पर्धा रहेको देखाएको छ । शिखर र हिमालयन एभरेष्ट बीमालेख जारी गर्ने संख्यामा अगाडि देखिँदा सलिको बीमाशुल्क आर्जनमा शीर्ष स्थानमा छ । अर्कोतर्फ राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको बीमालेख तथा बीमाशुल्क आर्जन तुलनात्मक रूपमा कमजोर देखिएको छ । विशेषगरी राष्ट्रिय बीमा कम्पनीले तीन महिनामा जम्मा पाँच हजार दुई सय ९० वटा मात्रै बीमालेख जारी गर्नु र नेशनल इन्स्योरेन्सले आठ हजार एक सय ६१ वटा बीमालेखमा सीमित रहनुले यी कम्पनीको व्यवसाय विस्तारको अवस्था कमजोर रहेको देखिएको छ । - सुरेश राउत