सुशासनका लागि सानो, सुस्त र प्रभावकारी भनिएको मन्त्रिपरिषद्का सदस्यहरूले देखाउन थालेका व्यवहार भने लाजमर्दो छन् । प्रधानमन्त्रीसहितको १८ सदस्यीय मन्त्रिपरिषद्का पाँच जना मन्त्रीहरू एकैपटक विदेश भ्रमणमा गएर जस्तो नमुना प्रकट गरे । त्यसले सुशासनको कतै अलिकति पनि सन्देशसम्म दिँदैन । त्यसमाथि उनीहरू गएको देश एउटै, अन्तर्राष्ट्रिय मञ्च पनि र विषय पनि एउटै रहेको कुराले त यो सरकार अर्थात् यो मन्त्रिपरिषद्को काम अरु देशका लागि हाँस्यास्पद नै लाग्ला । एक जना विषयगत मन्त्री गए पुग्ने ठाउँमा बालेन्द्र शाहको मन्त्रिपरिषद्का पाँच जना मन्त्री एकैपटक टर्की पुगे । अझ यसमा अचम्म के भने, मन्त्रीहरूको यति ठूलो लर्कोले उपलब्धी भने केही हासिल गर्न सकेन । यो भ्रमणको सन्दर्भ हालैको हिमपहिरोले पुर्याएको क्षतिबारे विश्वलाई जानकारी गराउनु र यो क्ष्तिको पूर्ती गराउनु थियो । यी पाँच जना मन्त्रीको यो भ्रमण संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कोप–३१ सम्मेलनको सेरोफेरोमा हो । यतिबेला जलवायुका सन्दर्भमा नेपाल विश्वकै नजरमा परेको अवस्था छ । संसारका झण्डै हजार हाराहारीका मानिस यो प्रकोपबाट हराइरहेका छन् । त्यसकारण पनि नेपाल सबैका आँखामा परेको बुझ्न सकिन्छ ।
निश्चय नै यस्तो बेला जलवायु परिवर्तनको जोखिममा रहेको देशले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मुद्दा प्रभावकारी रुपले उठाउने यो धेरै नै अनुकूलको समय हो । खासगरी यतिबेला जलवायु परिवर्तनको प्रत्यक्ष प्रकोप व्यहोर्ने मध्ये नेपालमात्रै हो । अरु देश जोखिममा होलान् । तर नेपालले त तत्कालै व्यहोरेको अवस्था हो । हाल आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कोप–३१ सम्मेलनको प्रमुख र एउटैमात्र विषय पनि यही हो । यस्तो बेला सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउने एउटा अवसर पनि हो । कुरा उठाउने र उपलब्धी हासिल गर्ने भन्दै एकैपटक पाँच–पाँच जना मन्त्री यही सम्मेलनका नाममा त्यहाँ पुग्नु नेपाल सरकारले आफ्नो देशमा गर्नुपर्ने काम केही नपाएको जस्तो देखाउँछ । भयो त्यही नै, मन्त्रीहरूको यति ठूलो जत्थाको यो उपस्थितिले सामान्यभन्दा बढी अर्थात् एउटा देशको उपस्थिति भन्दा बढी केही देखाउन, बुझाउन र हातापर्न सकेन । तानतुन पारेर यस्तो हात पारियो भनेर आत्मरतिमा रमाउनु अलग कुरा हो । एउटा ठूलो परिवर्तनपछि यो सरकार गठन भएको हो । नेपालीहरूले त्यस्तै बुझेका छन् । एउटा देशमा आयोजित एउटा कार्यक्रममा सानो भन्दै प्रचार गरिएको मन्त्रिपरिषद्को यति ठूलो संख्याको यो उपस्थिति आफैंमा अनौठो नै हो। मन्त्रिपरिषद्का कुल संख्याको हिसाबले पनि चारभागको एकभाग मन्त्रीहरू त्यहाँ पुगेको देखिन्छ । मन्त्रीहरूका यो जत्थाको यो भ्रमण आवश्यकता थियो कि रहरमात्रै भन्ने प्रश्न उठ्छ नै ।
मन्त्रीको यो भ्रमणमा अझ अनौठौ के देखियो भने, कतिपय त असम्बन्धित थिए भने प्रत्येक मन्त्रीले जत्थाका जत्था लगेका सहयोगीहरू पनि कुनै विज्ञताका आधारमा छनौट भएका थिएनन् । जानकार सूत्रहरूका अनुसार यो सम्मेलनमा बढीमा दुई जना मन्त्रीहरूका नाम स्वीकृत भएको थियो । तर पुगे पाँच जना । त्यसकारण यस्तो किन भयो भनेर मन्त्रिपरिषद्का अध्यक्षले नै जवाफ दिनुपर्ने देखिन्छ । समाचारमा आएअनुसार एक जना मन्त्रीले दश जनासम्म सहयोगी लगेको पाइयो । यी मन्त्रीका भ्रमणको स्रोत पनि खुलेको छैन । त्यसकारण पनि मन्त्रीका जत्थाको एकैपटक एउटै देशको यो भ्रमणले थुप्रै प्रश्नहरू खडा गरेको हुनुपर्छ । यो भ्रमणका चर्चित मन्त्रीहरू हुन्, परराष्ट्रमन्त्री अर्थमन्त्री कृषि, वन तथा वातावरणमन्त्री शिक्षामन्त्री र स्वास्थ्यमन्त्री । कतिपयले यो भ्रमणमा आर्थिक सहयोगका लागि दातृसंस्थासंग ठाडै रकम मागेका भन्ने कुरा पनि आएका छन् । यो भ्रमणमा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री यहाँसम्म कि अर्थमन्त्रीको पनि कुनै भूमिका देखिँदैन । सम्मेलन भएको देश र ठाउँमा एउटा दर्शकको रुपमा उपस्थित हुनुबाहेक उनका उपस्थिति पनि रहेको पाइँदैन । यसबाट सरकारले चेत्नुपर्छ ।