काठमाडौं, स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एचपी प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८औँ संस्करण आयोजना गर्ने भएको छ ।
यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ । यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल दुई सयवटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा २२ वटा ब्रान्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ वटा ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको सहभागिता रहने नाडाले जनाएको छ । यसका साथै ८ वटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्नेछन् ।
देशभरका अटो व्यवसायीहरू माझ मेलालाई लिएर उत्साहजनक माहोल बनेकाले हालसम्म पनि स्टलका लागि अत्यधिक माग भइरहेको नाडाले जनाएको छ । तर प्रदर्शनी स्थलमा उचित ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीहरूलाई स्टल उपलब्ध गराउन अप्ठ्यारो परिरहेको आयोजकले जनाएको छ । स्वदेशी उत्पादनका साथै अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने यो अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।