काठमाडौं, एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा उच्चरुपमा बढेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १३ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएकोमा आव २०८२/०८३ मा यस्तो नाफा बढेर ३० करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
बैकको खुद ब्याज आम्दानी १४ दशमलव ७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष १७ करोड २६ लाख रुपैयाँ रहेको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) यस वर्ष १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक भएपछि नाफामा उल्लेख्य वृद्धि भएको हो । सञ्चालन नाफा पनि ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ऋणात्मक अवस्थाबाट धनात्मक बनेर १७ करोड ९७ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३८ पैसा कायम भएकाले बैंक लाभांश वितरण गर्न सक्ने बलियो अवस्थामा पुगेको जनाएको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप १२ दशमलव ६३ प्रतिशतले बढेर १८ अर्ब ५८ करोड रुपैयाँ तथा कर्जा प्रवाह आठ दशमनलव ८२ प्रतिशतले बढेर १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कुल सम्पत्ति २१ अर्ब ३२ करोड रुपैयाँ नाघेको बैंकको चुक्ता पुँजी एक अर्ब २४ करोड ९६ लाख रुपैयाँ तथा जगेडा कोष, सञ्चित नाफा, सेयर प्रिमियमलगायत कुल कोष ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।