काठमाडौं, दुग्ध उत्पादक कम्पनी सीताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले मोबाइल एप सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले नयाँ आधिकारिक वेबसाइट सार्वजानिक गर्दै मोबाइल एप सञ्चालनमा ल्याउने घोषणा गरेको हो । कम्पनीले आफ्ना उपभोक्ताहरूलाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले वेबसाइट तथा मोबाइल एप सञ्चालन गर्न लागेको जनाएको छ । आगामी एक साताभित्रै एन्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी मोबाइल एपको तयारी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रम गरी वेबसाइट सार्वजानिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सुमित केडिया नयाँ वेबसाइट र मोबाइल एपले उपभोक्ताहरूलाई घरमै बसी–बसी शुद्ध दूध, घिउ, दही, पनिर, लस्सी, बटर तथा आइसक्रिम जस्ता उत्पादनहरूको जानकारी लिन र अनलाइन अर्डर गर्न मद्दत पुर्याउने बताए ।
यस प्लेटफर्ममार्फत ग्राहकहरूले कम्पनीका सम्पूर्ण दुग्धजन्य उत्पादनहरू शुद्ध दूध, घिउ, सुगर–फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर र आइसक्रिमको विस्तृत जानकारी, मूल्य र पोषण विवरण पारदर्शी रूपमा हेर्न र घरमै बसी–बसी सजिलै अनलाइन अर्डर गर्न सक्नेछन् । प्लेटफर्ममा ग्राहकहरूले सब्स्कृप्सन मोडलमार्फत पनि सामाग्रिहरू खरिद गर्न मिल्ने बनाइएको छ ।
आधुनिक प्रविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको यस प्लेटफर्ममा इ–सेवा, खल्तीजस्ता डिजिटल वालेटमार्फत सुरक्षित भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना गुणस्तरीय उत्पादनहरूलाई छिटो र प्रभावकारी ढङ्गले उपभोक्ताको घरदैलोसम्म पुर्याउने डिजिटल डेलिभरी प्रणालीलाई प्राथमिकतामा राखेको छ । यसले ग्राहकहरूलाई अझ सहज र उत्कृष्ट सेवाको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।