काठमाडौं, उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । मंगलबार १८औँ संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् । उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको पनि बताए । कार्यक्रममा उनले विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने बताए ।
जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उनको भनाइ छ । उपराष्ट्रपति यादवले वातावरणमैत्री र प्रविधिमैत्री नेपाल निर्माणका लागि ‘चार्जिङ स्टेसन’जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी हातेमालो गरेर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने ढङ्गबाट सरकारले कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए । उनले हाल व्यवासायीहरूको मनोबल गिरेको उल्लेख गरे । उनले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुबाट हटाउन पनि माग गरे । यस्तै उनले अब आयातमा मात्र भर नपरी स्वदेशमै सवारीसाधन र पार्टपुर्जाको ‘एसेम्बलिङ’ र उत्पादन सुरु गर्नुपर्ने आवश्यकता पनि औँल्याए । स्वदेशमै उत्पादनमूलक क्षेत्रको विकास गरी युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताए । मुलुकको जनसंख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी केन्द्रको विकास हुन नसकेको उनको भनाइ छ । अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केबल सवारीसाधनको व्यापारका रूपमा मात्र नहेरी यसको बृहत् आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गरे । नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै चार्जिङ पूर्वाधार र नेपालमै ‘एसेम्बल’ उद्योगको विकासका लागि नीतिगत स्पष्टता र सहुलियत हुनुपर्ने उनको भनाइ छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा अटो शो भदौ १४ गतेसम्म चल्नेछ ।
नाडाका अनुसार प्रदर्शनीमा ५३ सवारी ब्रान्ड, ७० पाट्र्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिएका छन् । अटो शोमा नेपालीलगायत विभिन्न कम्पनीले नयाँ उत्पादन सार्वजानिक गरेका छन् । सिप्रदी यात्री प्रालिले ‘यात्री पीटु स्कुटर’ नाडा अटो शोबाटै बिक्री सुरु गरेको छ । एमएडब्लू राइज प्राइभेट लिमिटेडअन्तर्गतको यामाहा नेपालले यामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गरेको छ । सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल प्रर्दशनीमा राखेको छ । सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनीमा छन् ।
मिचे अटो नेपाल प्रालिले पाँचवटा नयाँ मोडल विद्युतीय स्कुटर सार्वजानिक गरेको छ । यस्तै रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले नयाँ क्लासिक मोडल प्रदर्शनीमा राखेको छ । नाडा अटो शोमा अन्य दुई पाङ्ग्रे ब्रान्डहरू क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभीलगायत आफ्ना उत्पादनलाई प्रर्दशनीमा राखेका छन् । प्रर्दशनीस्थलमा २ सय १५ भन्दा बढी स्टलहरू रहेका छन् ।
प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल÷मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ । अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पाट्र्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकत गर्न सक्नेछन् । यसले गाडी किन्नेहरूले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् ।