काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भाद्र ९ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी)को आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्सका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा एक विशेष व्यावसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले स्वागत मन्तव्यका क्रममा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको सम्बन्ध आपसी विश्वास, पारस्परिक सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको चर्चा गरे । उनले यो भ्रमणले दुई सुरक्षा निकायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुको साथै समकालीन सुरक्षा चुनौतीहरुको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले नेपाल–भारत सीमा सुरक्षा र सहयोगका विभिन्न पक्षहरुलगायत सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा भएका उपलब्धि सम्बन्धमा विस्तृत रुपमा प्रस्तुतीकरण गरेका थिए भने सशस्त्र प्रहरी बल नेपालले ‘शान्ति, सुरक्षा र प्रतिवद्धता’को मूल मन्त्रका साथ सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व संकलनमा सहयोग र आन्तरिक सुरक्षामा निर्वाह गरेको बहुआयामिक भूमिकालाई विशेष वृत्तचित्रमार्फत प्रस्तुतसमेत गरिएको थियो ।
भारतीय सशस्त्र सीमा बलका डीआईजी सञ्जय कुमार शर्माले सन् २००१ बाटै भारतीय सशस्त्र सीमा बल नेपाल भारत सीमा सुरक्षामा तैनाथ र सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको संयोगको इतिहासलाई स्मरण गर्दै सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक कार्यसम्पादनमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा दुई देशबीचको अद्वितीय र ऐतिहासिक सम्बन्धको प्रतीक मानिने खुल्ला सीमानालाई थप सुरक्षित बनाउन सूचना आदान–प्रदान, सीमा अपराध नियन्त्रण र संयुक्त क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।