काठमाडौं, नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा आफ्नो नयाँ इलेक्ट्रिक बाइक ‘अल–न्यू आरभीएक्स’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आरभीएक्सको सीमित अवधिका लागि सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले नाडा अटो शोस्थित रिभोल्टको पेभिलियन तथा काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप शोरुमबाट बुकिङ र टेस्ट राइड खुला गरेको जनाएको छ ।
नेपालभर विस्तार भइरहेको रिभोल्टको शोरुम नेटवर्कमार्फत यसको डेलिभरी चाँडै सुरु गरिने कम्पनीले जनाएको छ । आरभीएक्समा ४ किलोवाटको मिड–ड्राइभ पीएमएसएम मोटर प्रयोग गरिएको छ, जसले ५.३ किलोवाटसम्मको पिक पावर र हिलमा अधिकतम २३० एनएमसम्म टर्क उत्पादन गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार बाइकले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमा लिन सक्छ भने बुस्ट मोडमा अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति प्राप्त गर्छ ।
यो बाइकमा ३.२४ किलोवाट–घण्टाको रिमुभेबल एनएमसी ब्याट्री दिइएको छ । यसले एकपटक पूर्ण चार्जमा १६० किलोमिटर आईडीसी रेन्ज दिने कम्पनीको दाबी छ । फास्ट चार्जरबाट ब्याट्रीलाई ८० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । रिमुभेबल ब्याट्री भएकाले सामान्य घरायसी सकेटबाट समेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा बुस्ट, स्पोट्र्स, सिटी र इको गरी चारवटा राइडिङ मोड छन् । त्यस्तै, अपसाइड–डाउन फ्रन्ट फोर्क र रियर मोनो–सक सस्पेन्सन, ३.५ इन्चको आईपी६७–रेटेड विएमभीए डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ तथा ओटिए अपडेटजस्ता सुविधा उपलब्ध छन् ।
बाइकमा कल तथा म्यासेज नोटिफिकेसन, हिल–होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटर पनि समावेश गरिएको छ । आरभीएक्स पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसै अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले ‘नेपाल गर्छ रिभोल्ट’ नामक ब्रान्ड अभियान पनि सार्वजनिक गरेका छन् । कम्पनीका अनुसार अभियानले आत्मविश्वासी, महत्त्वाकांक्षी र आफ्नै शैलीमा अघि बढ्न चाहने नेपाली राइडरलाई केन्द्रमा राखेको छ ।