काठमाडौं, एनआईसी एसिया बैंकले नाडा अटो सो २०२६ लाई लक्षित गर्दै ल्याएको विशेष अटो लोन योजना ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको जनाएको छ । बैंकले सात वर्षसम्म वार्षिक पाँच दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन उपलब्ध गराएपछि नाडा अटो सोमा सवारी साधन खरिद गर्न चाहने ग्राहकको आकर्षण बढेको बैंकको भनाइ छ ।
काठमाडौंको भृकुटीमण्डपमा भाद्र ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको नाडा अटो सो २०२६ को अवसरमा बैंकले विशेष योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार अटो सोको पहिलो दिनदेखि नै उक्त कर्जा योजनाप्रति ग्राहकहरूको उल्लेख्य चासो देखिएको छ । यस योजनाको प्रमुख विशेषता भनेको सात वर्षसम्म ब्याजदर परिवर्तन नहुने व्यवस्था हो ।
पाँच दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरका कारण ग्राहकले दीर्घकालीन वित्तीय योजना बनाउन तथा मासिक कर्जा दायित्व सहज रूपमा व्यवस्थापन गर्न सक्ने बैंकले विश्वास लिएको छ । बैंकले सवारी साधन खरिदसँगै कर्जा प्रक्रिया पनि छिटो र सहज बनाउन नाडा अटो सोमा विशेष डिजिटल सुविधा उपलब्ध गराएको जनाएको छ । ग्राहकले क्यूआर स्क्यान गरी आवश्यक विवरण भरेपछि कर्जाको योग्यता परीक्षण गर्न तथा तत्काल कर्जा स्वीकृतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
प्रारम्भिक स्वीकृतिपछि आवश्यक कागजात आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा बुझाएर बाँकी प्रक्रिया पूरा गर्न सकिने बैंकले जनाएको छ । यस डिजिटल प्रक्रियाबाट ग्राहकलाई आफूले रोजेको सवारी साधन छनोटदेखि कर्जा प्रक्रियासम्मको कामलाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनआईसी एसिया बैंकले यस योजनाअन्तर्गत ग्राहकको आवश्यकताअनुसार निजी, व्यावसायिक तथा विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराएको छ । सात वर्षसम्म पाँच दशमलव ९९ प्रतिशतको अपरिवर्तनीय ब्याजदरमा उपलब्ध हुने यो सुविधाले सवारी साधन खरिद गर्ने निर्णयलाई थप सहज बनाउने बैंकको विश्वास छ ।
यद्यपि, व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने कालो नम्बर प्लेटका सवारी साधनको हकमा भने कर्जा अवधि अधिकतम पाँच वर्ष कायम गरिएको छ । ग्राहकले एनआईसी एसिया बैंकका जुनसुकै शाखा कार्यालयबाट अटो लोनसम्बन्धी जानकारी लिन तथा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, नाडा अटो सो २०२६ मा रहेको बैंकको स्टलमा पुगेर एनआईसी एसिया अटो लोन तथा बैंकका अन्य वित्तीय सुविधाबारे विस्तृत जानकारी लिन सकिने बैंकले जनाएको छ ।