काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालय टोलीका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन्। आइतबारदेखि लागू हुने गरी केही सदस्यलाई सचिवालयबाट हटाइएको छ भने केहीको जिम्मेवारी बढुवा गरिएको छ।
जिम्मेवारी हेरफेरका क्रममा माधव खनाललाई सचिवालयबाट हटाइएको छ। यस्तै, दीपा दाहाल, विश्व राई र सञ्जिव पाण्डेको जिम्मेवारी परिवर्तन गरिएको छ। यसअघि प्रेस तथा अनुसन्धान विज्ञका रूपमा नियुक्त भएकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी दिइएको छ। त्यसैगरी, इन्जिनियर सञ्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक र विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक बनाइएको छ।
उनीहरू यसअघि प्रधानमन्त्रीको सचिवालयमा विज्ञका रूपमा नियुक्त भएका थिए। तर, आइतबारदेखि लागू हुने गरी उनीहरूलाई संयोजक तथा सहसंयोजकको जिम्मेवारी दिइएको हो। यससम्बन्धी विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा समेत अद्यावधिक गरिएको छ।
प्रधानमन्त्री शाहकै निर्देशनमा सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर तथा केहीलाई सेवाबाट हटाइएको स्रोतको दाबी छ। स्रोतका अनुसार सचिवालयका सदस्यहरूको कार्यप्रगति समीक्षा गरेपछि राम्रो कार्यसम्पादन गर्ने केहीलाई बढुवा गरिएको छ भने केहीको जिम्मेवारी हेरफेर तथा घटुवा गरिएको छ।
विज्ञ पदबाट हटाइए पनि सम्बन्धित व्यक्तिहरूलाई उनीहरूले यसअघि सम्हाल्दै आएको कार्यक्षेत्रमै जिम्मेवारी दिइएको देखिन्छ। यद्यपि, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव र पाँच जना सल्लाहकारको जिम्मेवारी भने यथावत् राखिएको छ। यथावत् रहने सल्लाहकारमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदिशप्रसाद अग्रवाल, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्। त्यसैगरी, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नविन भण्डारी पनि साविककै जिम्मेवारीमा कायम छन्।