काठमाडौं, रसुवा बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका सुरक्षाकर्मी र पीडित समुदायको सहयोगका लागि मोरङ उद्योग व्यापार संघले अत्यावश्यक सुरक्षा तथा राहत सामग्री हस्तान्तरण गरेको छ ।
संघले शनिबार कार्यक्रमका बीच सहयोग सामग्री हस्तान्तरण गरेको हो । संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षकलाई औपचारिक पत्रसहित ४०० जोर खुला ह्यान्ड ग्लोब्स र १६ कार्टुन (३८४ जोर) सेफेक्स गम्बुट हस्तान्तरण गरेका हुन् । सो अवसरमा उच्च प्रहरी अधिकृतहरूको साथै संघका उपाध्यक्ष विकास कुमार वेगवानी, महासचिव संजय कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईँको समेत उपस्थिति रहेको थियो ।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको भीषण बाढीका कारण रसुवाको टिमुरे, धुन्चे, बेत्रावती हुँदै नुवाकोट तथा धादिङका विभिन्न तटीय क्षेत्रहरूमा सडक, पुल, भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुग्नुका साथै गम्भीर मानवीय संकट उत्पन्न भएको थियो । यस्तो विषम परिस्थिति र प्राकृतिक विपद्को घडीमा नेपाल प्रहरी तथा सुरक्षा निकायले देखाएको अग्रपंक्तिको उपस्थिति, खोज तथा उद्धार कार्यमा प्रदर्शित साहसिक सक्रियता र प्रभावकारी व्यवस्थापकीय भूमिकाको संघले उच्च प्रशंसा गरेको छ ।
हिलो, ढुङ्गा र भग्नावशेषयुक्त जोखिमपूर्ण स्थानमा खटिने उद्धारकर्मी र बाढीपीडित नागरिकहरूको स्वास्थ्य तथा व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी उपलब्ध गराइएका यी सुरक्षा सामग्रीहरूले उद्धार कार्यलाई थप सुरक्षित र सहज बनाउने विश्वास लिइएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुखले निजी क्षेत्रबाट प्राप्त सहायता र सामाजिक उत्तरदायित्वको सराहना गर्दै हस्तान्तरित सुरक्षा सामग्रीहरू तत्काल आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा परिचालन तथा वितरण गरिने जानकारी दिए ।