कुवेत सिटी, कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले विशाल अन्तर्राष्ट्रिय निजी इन्धन कम्पनीहरू ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग १६ अर्ब डलरको पाइपलाइन पूर्वाधार सम्झौता गरेको कम्पनीले शनिबार जानकारी गराएको छ ।
कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो तेल सहायक कम्पनीले अन्तर्राष्ट्रिय कम्पनी तथा फर्मसँग ‘सम्पूर्ण घरेलु र निर्यात पाइपलाइन सञ्जाल’ विस्तारका लागि ठेक्कापट्टा सम्झौता गरेको बताएको छ । यो लगानी इरानी आक्रमण र ऊर्जा निर्यातका लागि महत्त्वपूर्ण जलमार्ग हर्मुज जलसन्धि बन्द भएपछि हाइड्रोकार्बनका लागि धनी खाडी राष्ट्रहरूले आफ्नो उत्पादन बढाउन दौडिरहेका बेला आएको हो । दुई दशकभन्दा बढी अवधिको यो सम्झौताअन्तर्गत न्यूयोर्कस्थित ब्ल्याकस्टोन, क्यानडाको ब्रुकफिल्ड र अमेरिकी लगानीकर्ता केकेआर नेतृत्वको कन्सोर्टियमले
कुवेतको ३२० किलोमिटर (१९९ माइल) पाइपलाइन सञ्जालको ४९ प्रतिशत हिस्सा लिनेछ भने कुवेती कम्पनीले ५१ प्रतिशत कायम राख्नेछ । संयुक्त उद्यम ‘कुवेतको इतिहासको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो र हाम्रो देशको आर्थिक विकासको निर्णायक कोशेढुङ्गा हो,” कुवेत पेट्रोलियम कर्पोरेसनका प्रमुख कार्यकारी नवाफ साउद अल–सबाहले भने ।