काठमाडौं, म्याक्सस नेपालले रसुवा बाढी प्रभावित समुदायका लागि राहत सहयोग गरेको छ । कम्पनीले साइक क्याक्सस चीनको सहयोग तथा हिमालय अर्गानाइजेसनको करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा पुनःस्थापना सहयोग प्रदान गरेको हो ।
सहयोगअन्तर्गत प्रत्यक्ष आर्थिक सहायता, स्वच्छ खानेपानीको दिगो व्यवस्था तथा अत्यावश्यक राहत सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको थियो । यसैगरी, त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी करिब ३० लाख रुपयाँ बराबरको सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसअन्तर्गत नुवाकोटका दुईवटा अस्थायी होल्डिङ सेन्टरमा सौर्य ऊर्जामा आधारित अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्नुका साथै करिब ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ ।
कम्पनीका अनुसार पानी शुद्धीकरण प्रणाली नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालयमा जडान गरिएको छ, जहाँ हाल करिब ३०० परिवार अस्थायी रूपमा आश्रय लिइरहेका छन् । अर्को प्रणाली नुवाकोटकै विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएको छ, जहाँ करिब २०० परिवारले अस्थायी आश्रय लिइरहेका छन् । प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै विद्यालय पुनः सञ्चालन भएपछि विद्यार्थीहरूलाई समेत यसबाट लाभ पुग्ने अपेक्षा गरिएको छ ।
राहत सामग्रीअन्तर्गत डसना, सिरानी, तन्नालगायत सुत्न आवश्यक सामग्री, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न तथा तरकारी, खाना पकाउने सामग्री र भाँडाकुँडा, पुरुष, महिला तथा बालबालिकाका लागि कपडा तथा अन्य आधारभूत आवश्यकताका सामग्री वितरण गरिएको कम्पनीको भनाइ छ ।