वैदिक साहित्यमा एउटा सुक्त छ– ‘एकं लज्जा परित्याज्य सर्वत्र विजयी भवेत्’ । यो सुक्तले मलाई त्यतिखेर तिखो घोच्यो जतिखेर कृष्णप्रसाद भट्टराइको विश्वास र भरोशाले सांसद र सभामुख हुन पाएका ऋषिकेश शाह, प्रदीप गिरि जस्ता सामयिक कालखण्डका जानिएका मानिएका एउटा अर्थका साँचा बुद्धिजीविले पनि ठूलो विद्वान् भनेर टाउको चढाएका मुलुकमा ख्याति प्राप्त वरिष्ठ वकिल दमननाथ ढुङ्गानाले माओवादीसँग वार्ता सन्दर्भमा भट्टराइ (प्रधानमन्त्री) लाई नै ठेङ्गा देखाएर उल्लु बनाए । अर्थात् विश्वास र भरोशाको गला रेटे । विश्वासघात गरे । या भनौँ लाज पचाएर दाँत ङिच्च्याए । प्रस्तुत आलेखको प्रारम्भमै यहाँ नाम उल्लेख भएका कृष्णप्रसाद भट्टराइ, ऋषिकेश शाह, प्रदीप गिरि, दमन ढुङ्गाना यी चारै जनासँग मेरो दुई दशक बढी उठबस घनिष्ठ सहयात्रा अन्तरङ्ग सम्बन्ध रहेको सामान्य मेरा आम पाठकलाई सबै थाहै छ । अझ कृष्णप्रसाद भट्टराइ र प्रदीप गिरिसँग त चार दशक पाँच दशक बढीको सहयात्रा हो । २५ वर्ष सक्रिय पत्रकारितामा रहँदा यी चारैजना मेरो गुरु पनि हुन् । त्यही भएर पनि मलाई त्यस बखतको यो हाम्रा आम बौद्धिक जगतबाट लुकाइएको जेनजी या जेन–अल्फाका लागि अनिवार्य पाठ्यक्रम (माओवादी हिंसाको रगतपच्छे दुर्भाग्य वीरेन्द्र वंशनाश) ल्याइदिनु पर्ने बाध्यता जस्तो भएको हो । माथि उल्लिखित वैदिक सुक्तको परिपुरक अर्को सुक्त छ । ‘विवेकहीन पशुभिः समान’ । त्यसै कारण पशुहरूमा लज्जा नहुने गरेको हो । यसलाई यसरी पनि भन्न सकिन्छ– ‘लज्जाहीन पशुभिः समान’ ।
संसद्वादी माओवादी वार्ता सन्दर्भमा सरकारतर्फका कांग्रेस प्रतिनिधि दमननाथ ढुङ्गानाले (विसं. २०५६÷०५७) प्रधानमन्त्री (कांग्रेस सरकार) कृष्णप्रसाद भट्टराइलाई ठेङ्गा देखाएर उल्लु बनाएका प्राडा. जगतबाट लुकाइएको सामयिक नेपाली राजनीतिको अनिवार्य पाठ्यक्रममा आइपुग्नु अघि अलिकति त्यस कालखण्डका बौद्धिक जगत (प्राडा, वकिल, लेखक, पत्रकार, राजनीतिक विश्लेषक) को दिवालीया दुर्भाग्य पाठ्यक्रममा सामिल गर्न चाहन्छु । मेरो २०५७ मा प्रकाशनमा (बजारमा) आएको पुस्तक ‘शैक्षिक जागरणका विभूति सत्यनारायण बहादुर’ (प्रकाशक गोविन्ददाश श्रेष्ठ, अध्यक्ष होटल रेडिसन, वितरक रत्न पुस्तक भण्डार, बागबजार) मा यस बौद्धिक दिवालीया (खडेरी) को विस्तृत सन्दर्भ आइसकेको हो । यहाँ संक्षिप्तमा तर तथ्य र तात्पर्य प्रष्ट हुने गरि राख्छु ।
प्रकाशमान सिंहको ‘गणेशमान सिंह फाउन्डेसनले मलाई ०७ साल उताका गणेशमान सिंहका साथीहरूको एउटा पुस्तक तयार गर्ने प्रोजेक्ट (काम) दिएको थियो । त्यसमा २९ जना जति भेटिएर पुस्तक बजारमा आएर उपलब्ध असहज पनि भइसकेको छ । गणेशमानजी विसं. २००२ सालमा राणा जेलबाट फुत्केर भारत कलकत्ता पुग्दा वर्षदिन भन्दा बढी सत्यनारायण बहादुरकै शरणमा पालिनु भएको रहेछ । राणा दरवारका माष्टर साहब भेटनारायणका भाइ सत्यनारायण कुन परिवन्दमा परेर निर्वाशन झेलिरहनु भएको पुस्तकमा आइसकेको यहाँ नदोहो¥याऊँ । अल इन्डिया रेडियोमा समाचार वाचकको जागिर र मुगा कस्तुरीको तिब्बतको व्यापार उहाँको कलकत्ताको वास सानदार ढङ्गकै थियो । सुवर्ण शमशेरका भाञ्जा थीरबम मल्लसँग मितेरी साइनो गाँसिएका कारण सुवर्ण दरवारमा उहाँको ओहोरदोहोर बीपी, गणेशमानलाई भन्दा सहज थियो । क्रान्ति बखत कलकत्ता शाखाको सभापति हुनुहुन्थ्यो । परिवर्तनपछि त्रिभुवन बीपीहरूसँगै नेपाल आउनुभयो । ५÷५ जनाको राणा कांग्रेस मन्त्री मण्डलमा कांग्रेसले त्रिभुवनसँग एउटा नाम माग्दा सत्यनारायणको नाम दिए । उहाँले राजालाई भन्नुभयो – ‘सरकार ! प्रजातन्त्रमा शिक्षा भएन भने त्यो भाँडतन्त्र (विहारी प्रजातन्त्र, भारतको सबैभन्दा अशिक्षित प्रदेश आज पनि) मा परिणत हुन्छ । केटाकेटी दुवै सँगै पढ्न सक्ने आवासीय विद्यालय चलाउन फर्पिङको गृष्मकालीन दरवार र स्वर्गको बगैँचा (१०९ रोपनी) बक्सिस् होस् ।’ यसरी नेपालमा आवासीय विद्यालय खोल्ने पहिलो नेपाली (२००८ साल) हुनुभएकाले पुस्तक लेखिने, सालिक खडा हुने गरेको हो ।
कालक्रममा गणेशमानले प्रधानमन्त्रीपद त्यागेको खुब चर्चाको विषय भयो । ‘तपाईँले ऐतिहासिक मन्त्रीपद त्यागेर केटा केटीका सिँगान पुछ्ने अप्ठेरो बाटो रोज्नुभएको त्यागको आजसम्म कतै कुनै चर्चा किन भएन ? मैले सत्यनारायणजीसँग यो प्रश्न गर्दा उहाँको उत्तर थियो – ‘हेर्नुहोस् रेवतीजी ! त्यागको मूल्य खोजिँदैन । मूल्य खोजियो भने त्यो त्याग त्याग रहन्न ।’ सत्यनारायणको यो उत्तर पछि मैले लेखेँ पनि– ‘गणेशमानजीका साथी खोज्न निस्केको फेला पर्नुभयो गुरु’ । हो, प्रस्तुत अध्ययन उहाँबाट नै उपलब्ध पाठ्यक्रम हो । त्यस बखत नेपालका आम बौद्धिक जमात आफूलाई राजावादी, माओवादी, कांग्रेस, एमालेवादी आदि इत्यादि वादीमा चिनारी दिने थेगो जस्तै होड चलेको भेटिन्थ्यो । घोक्रो फुलाएर म राजावादी, म कांग्रेसवादी, माओवादी, एमालेवादी हुँदाहुँदै शेरबहादुर र कमल थापावादी चिनारी दिनु आम बौद्धिक जगतको सामान्यीकरण आम जनमतले पनि त्यस्तै ढङ्गले बुझ्ने स्थिति हावी थियो । एक दिन सत्यनारायणजीले मलाई सोध्नुभयो– ‘रेवतीजी ! बताउनुहोस् मलाई यो राजावादी, माओवादी, संसद्वादी बुद्धिजीवि भनेको के हो ? बुद्धिजीवि पनि कुनै वादी हुन्छन् ? बुद्धिजीविले त जानेको देखेको साँचो साँचो बताइदिनु र थप कर्तव्य मार्गदर्शन पनि गर्नु होइन र ?’ सत्यनारायणका यी प्रश्नको उत्तर खोज्ने क्रममा जुन तथ्य उजागर भयो बौद्धिक दिवालीयाको पराकाष्टा दुर्भाग्य थियो । अब प्रचण्डवादी, देउवावादी, बाबुराम भट्टराईवादीदेखि कमल थापा, राजेन्द्र लिङ्देन, उपेन्द्र यादव, सि.के. लाल, गगन थापावादी सम्मको बौद्धिक चकचकीले आजको जस्तो अर्थतन्त्र पूर्ण रूपको दिवालीया र सार्वभौमिकता आईसीयूमा घिटीघिटी दशा हुनु स्वाभाविक प्राकृतिक हो ।
गिरिजाको राष्ट्रघात (टनकपुर महाकाली सन्धि) र लुटतन्त्र (चिनियाँ सहयोगबाट निर्मित नाफामा चलेका सारा उद्योग कारखाना कौडीको मूल्यमा ध्वस्त) बाट कांग्रेसको जनाधार खस्कीसकेको थियो । कृष्णप्रसाद भट्टराइको नाम अघि सारेर एमाले फुटेर ०५६ को चुनावमा बहुमत ल्यायो । कृष्णप्रसाद भट्टराइ प्रधानमन्त्री हुनुभयो र माओवादीसँग वार्ता गर्न आफ्ना तर्फबाट (कांग्रेस) योग्य र भरपर्दा ठानिएका दमननाथ ढुङ्गानालाई खटाउनु भयो । एमाले तर्फबाट खटाइएका पद्मरत्न तुलाधरको नाम यस कारण महत्व नदिएको कि उनी पहिलेदेखि नै नेपालमा गाई काटेर मासु खान पाउनु पर्छ भन्ने देश भाँड्ने मिसनका रिक्रुट भइसकेका थिए । यद्यपि तुलाधरसँग पनि पंक्तिकारको घर आउजाउ स्तरको बसउठ जानपहिचान थियो । माओवादीसँग वार्ताको सन्दर्भमा दमननाथ ढुङ्गानाको भूमिकालाई अत्यन्त निकटबाट नियालेर हेरिरहेको थिएँ । माओवादीसँग वार्ताका नाममा दुबोको मालाले बेहुला झैँ सजिएर पाँचतारे होटलका मञ्चमा शोभायमान भएर थरीथरीका गुड्डी हाँकिरहेका १२ भाइ पत्रकार जगतलाई हाइलाइट, ब्रेकिङ समाचार विचार भइरहेका तर वार्ताको मूल विषयमा भने कतै संकेत पनि नगरेका पाउँदा एक प्रकारले छक्क पर्नु जस्तो मनमा क्रुद्ध भावना जाग्यो । किनभने वार्ताको मूल विषय छर्लङ्ग थियो – ‘या त संसदवादी ०४७ को संविधान बाहिर आउन तयार हुनुपर्दथ्यो या माओवादीभित्र आउन तयार हुनुपर्दथ्यो । यो सहमति हुन नसके लड्ने जित्ने हार्ने भन्दा अर्को विकल्प हुन्न थियो’ । सामान्य राजनीति शास्त्रको ‘क’ ‘ख’ अलिअलि ज्ञान राख्नेले पनि छर्लङ्ग देख्न सक्ने यो तथ्य दमननाथ ढुङ्गाना जस्तो वरिष्ठ वकिल धुरन्धर विद्वान्ले भेउ नपाउने भन्ने कदापि होइन । सन्तनेता प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइप्रतिको मात्र दमनको यो धोखा, बेइमानी विश्वासघात थिएन ।
यो त देश जनता प्रणाली प्रतिको पनि धोखा बेइमानी विश्वासघात थियो । दमननाथ ढुङ्गानाको यो पत्याउन मुश्किल जघन्य दुष्कर्मको कारण खोज्दै जाँदा पछि थाहा लाग्यो, प्रचण्डले आफैँ मुख खोले ‘गिरिजालाई गणतन्त्रमा ल्याइ पु¥याउनसम्म वार्ताको नौटंकी मञ्चन गरिरहने र कृष्णप्रसाद भट्टराइलाई गलहत्याएर गिरिजालाई प्रधानमन्त्रीमा ल्याएर राजसंस्था उन्मुलन एक्सनमा जाने ‘रअ’ को रणनीतिक रिक्रुट जागिरे पो भएका रहेछन् उनी त । हेर हेर विवेकहीन पशुभिः समान । प्रचण्डले आफैँ मुख खोलेको सन्दर्भ चाहिँ ‘गिरिजा फलानो चौकी फलानो व्यक्ति हान् भन्ने सुराकी दिन्थ्ये हामी त्यही गथ्र्यौँ’ भन्ने एक समयको उनको बयान वक्तव्य आमजनका हातहातका मोबाइलमा भाइरल भएको गुगलमा खोज्दा पाठ्यक्रम उपलब्ध छ ।
विहारी प्रजातन्त्र (चुनावमा बुथ क्याप्चरिङ, भोट बक्सा फेरबदल आदि इत्यादि) को भारी बोकिए यताको लाज पचाएर नाङ्गिएको हाम्रो प्राडा जगतको तथ्य चिनारीका लागि मलाई लाग्छ दमन ढुङ्गानाको आज सम्म पनि बौद्धिक धाकको मान्यता रहनु एउटा प्रमाणिक उदाहरण हो । यसमा यस्ता सयकडौँ उदाहरण पाठ्यक्रम छन् जसलाई यस्ता साप्ताहिक स्तम्भमा अटाउन सकिन्न । त्यस्ता मध्ये प्राइमरी स्कूलसम्म पाठ्यक्रम अनिवार्य पुग्नै पर्ने एउटा उदाहरण प्रतिनिधि अध्याय यहाँ राखेर आफ्नो तात्पर्य छर्लङ्ग पार्छु ।नेपाललाई हेर्ने भारतमा शक्तिशाली दुइटा दृष्टिकोण छन् । एउटा डा. राममनोहर लोहियाको जसको आशय सानो भूगोल थोरै जनसङ्ख्या रहेको नेपालमा समाजवादी क्रान्ति सफल पार्न मद्दत पु¥याएर त्यसको उदाहरण देखाएर विशाल भूगोल धेरै जनसङ्ख्या रहेको भारतमा समाजवादी क्रान्ति सफल पार्नु । जुन दृष्टिकोणलाई बेलैमा बुझ्न नसकेकोमा ‘आत्मवृत्तान्त’ मा बीपीको ठूलो पश्चाताप भेटिन्छ । जुन दृष्टिकोणको आजको भारतमा नरेन्द्र मोदी खेमाले लिगेसी राख्छ, हामीकहाँ शशांकले बीपीको लिगेसी राखेको जस्तै ।
दोस्रो दृष्टिकोण स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको छ, जसलाई प्राडा जगतले ‘नेहरु डक्ट्रिन’ संज्ञा दिने गरेका भेटिन्छ । जसको लिगेसी आज सोनिया गान्धी राहुल गान्धी खेमाले राख्छ । नेहरु डक्ट्रिन (दृष्टिकोण) भनेको राजा र जनतालाई सुइँको नदिइ राणा प्रधानमन्त्री मोहन शमशेरलाई परिवर्तन पछिको प्रथम प्रधानमन्त्री बनाउने आश्वासनमा सन् ५० को नेपाल भारत कथित मैत्री असमान सन्धिमा हस्ताक्षर गराएर ०७ साल फागुन ७ गते ‘प्रजातन्त्र’ नामको ‘भारततन्त्र’ लादेर विसं. २००८ सालदेखि ०२७ सालसम्म नेपालका १५ पहाडी जिल्लाका १८ ठाउँमा भारतीय सैनिक पोष्ट खडा गरेर नेपालको सार्वभौमिकता पूर्ण रूपको भारतको मुठ्ठीको माखो बनाइएको ।
ज्यानको बाजी थापेर माओत्सेतुङको आड लिएर राजा महेन्द्रबाट नेपालको सार्वभौमिकता भारतको बन्धकबाट मुक्त भयो । त्यसको प्रतिशोधमा राजा महेन्द्र मारिए मात्र होइन, सारा चिनियाँ सहयोगमा निर्माण भएको नाफामा चलेर रोजगारी बढीरहेको उद्योग कारखाना कमिसनमा ध्वस्त तुल्याएर ३ करोड जनसङ्ख्याका ८० लाख बढी बलिया पाखुरी वैदेशिक कामदारमा लखेटेर, ८० लाख भारतीयलाई नेपाली नागरिकता दिएर (जनमत सङ्ग्रह ताका ४० लाख) राजसंस्था राष्ट्रिय एकताको प्रतिक मासेर, सार्वभौमिकता आईसीयूमा घिटीघिटी । यसरी नेपाल हेर्ने भारतको नेहरु दृष्टिकोण (नेहरु डक्ट्रिन) मा ‘कोर्स करेक्सन’ नहुँदासम्म नेपालको अहित भइरहने चौतर्फी पुष्टी र प्रमाणित तथ्य हो । ‘तथ्यको इन्कार गर्दा तिनले नराम्रोसँग बदला लिन्छन्’ भन्ने वोल्सेविक क्रान्तिका नायक व्ला.ई. लेनिनको कथन छ ।निष्कर्षमा उल्लिखित पृष्ठभूमिको परिणाममा भारतले नेपाल हेर्ने दृष्टिकोण ‘नेहरु डक्ट्रिन’ मा ‘कोर्स करेक्सन’ अनिवार्य पाठ्यक्रम प्राइमरी स्कुलसम्म नदेखिनु नभेटिनु यो भन्दा दुवै हत्केलाले लङ्गौटीको काम गरेर सर्वाङ्ग दाँत ङिच्च्याउनु जस्तो लाजमर्दो उदाहरण भन्दा अर्को खोइ के उदाहरण खोज्ने ? अस्तु ।