चितवन । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलको पिलरमा अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्ने प्रयास सुरु गरिएको छ। प्रशासनका अनुसार क्रुजलाई सकभर क्रेनको सहायताले नदी किनारमा लैजाने प्रयास भइरहेको छ। तीन वटा क्रेन लगाएर क्रुजलाई गैंडाकोटतर्फको भागमै तानेर सुरक्षित स्थानमा लैजाने तयारी गरिएको हो।
हिजो साँझ नदीमा आएको भीषण बाढीले होटल रिभर क्राउन अगाडिबाट क्रुजलाई बगाएर नारायणी पुलसम्म पुर्याएको थियो। बाढीले बगाएको क्रुज पुलको गैंडाकोटतर्फको पिलरमा गएर अड्किएको थियो।तीन तले क्रुज पुलको पिलरमा अड्किएपछि पुलको संरचनामै क्षति पुग्न सक्ने जोखिम बढेको थियो।राइनोज क्रुजसिप कम्पनीका अनुसार क्रुजलाई रुखमा टुचिन लगाएर बाँधिएको थियो। तर, नदीमा आएको ठूलो बाढीका कारण टुचिन नै चुँडिएपछि क्रुज बगेर पुलमा पुगेको हो।
कम्पनीका अनुसार क्रुज राखिएको स्थानमा दुई वटा रुख आएर अड्किएपछि ती रुखले ठेल्दा टुचिन चुँडिएको थियो। क्रुजलाई २० एमएमका दुई वटा टुचिनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाँधिएको कम्पनीको दाबी छ।क्रुजको तौल ७० टनभन्दा बढी रहेको बताइएको छ। यद्यपि, पानीमा तैरिरहेको अवस्थामा यसको प्रभावकारी भार निकै कम हुने कम्पनीको भनाइ छ। करिब डेढ वर्षअघि मात्रै क्रुजलाई नारायणी पुलभन्दा माथिल्लो क्षेत्रमा ल्याइएको थियो। करिब १०० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको तीन तले क्रुजमा एकपटकमा १८० जनासम्म यात्रु अट्ने क्षमता रहेको छ। करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो क्रुज नेपालकै पहिलो क्रुजसिपका रूपमा सञ्चालनमा ल्याइएको थियो।