काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउको अनुगमन गर्न नदिएको विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत एसएसपी खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन बोलाइएको हो।पोखरेलका अनुसार आइतबार जबरा पक्राउ परेपछि आयोगको टोली अनुगमनका लागि टेकुस्थित कार्यालय पुगे पनि अनुगमन गर्न नपाएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको हो।
आयोगको टोली आइतबार जबरा पक्राउ गरिएको स्थानमा पुगेर अनुगमन गर्न खोजेको थियो। तर, प्रहरीले करिब एक घण्टा कुराएपछि गेटबाटै आयोगको टोलीलाई फर्काएको आयोगको भनाइ छ।
आफ्नो अनुगमनमा अवरोध गरिएको भन्दै आयोगले आइतबार नै विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो। अब आयोगले एसएसपी खड्कासँग जबरा पक्राउको अवस्था तथा आयोगको अनुगमनमा अवरोध भएको विषयमा जानकारी लिने भएको छ।