काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन्।जबराका छोरा सचिन्द्रशमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो।
निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ।
जबराले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको पनि निवेदनमा उल्लेख गरेका छन्।
पछिल्लो समय प्रहरी कार्यालयबाट केही विषयबारे जानकारी पाएपछि आफूलाई थप सुरक्षा आवश्यक देखिएको भन्दै जबराले सुरक्षा व्यवस्था मिलाउन माग गरेका हुन्।निवेदनमा आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै जबराले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले सुरक्षा माग गर्दै निवेदन दिएको पुष्टि गरेका छन्। जबरालाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी आइतबार दिउँसो छुटेका थिए। उनको पक्राउको विषयलाई लिएर पछिल्लो समय विभिन्न टिकाटिप्पणी भइरहेका छन्।