जमिन कसको हो ? माटो कसको हो ? देश ठूलो कि देशमा बस्ने जनता ? माटो ठूलो कि आमा ? देशको सीमारेखा ठूलो कि मान्छे र मान्छेले बगाएको रगत ? किन देशको लागि मर्ने ? जिउने कसको लागि–आफ्नो लागि कि देशको लागि ? पदार्थ के हो र यो कहिलेसम्म अस्तित्वमा रहीरहन्छ ? कालापानी र लिम्पियाधुरा नेपालको हो कि भारतको ? के लिम्पियाधुरालाई भारतले लैजान सक्छ ? के कालापानी नेपालको होइन ? देश कसको हो ? संसार कसको हो ? अयोध्या हिन्दु वा मुसलमान कसको हो ? यरुसलेम यहूदिहरूको हो कि प्यालेस्टिनीहरूको हो ? नेपालमा कसैलाई किन बस्न दिने ? नेपालबाट कसैलाई किन नलखेट्ने र किन कसैलाई नेपालबाट देश निकाला नगर्ने ? अमेरिका र युरोपमा हिन्दु धर्म प्रचार गर्न दिने कि नदिने ? र त्यहाँ बस्ने हिन्दु र बौद्ध धर्म मान्नेहरूलाई त्यहिँ बस्न दिने कि त्यहाँबाट लखेट्ने ? देशको लागि आफुँलाई मार्ने कि नमार्ने ? देशको लागि मर्ने कि नमर्ने ? देशको लागि अरुलाई मार्ने कि नमार्ने ? कसैलाई देश निकाला गरेर कसैले के पाए ? जीवन के हो ? किन जीवन जिउने ?
गोपालवंशी राजाहरूलाई महिषपाल राजाहरूले मारेर के पाए ? महिषपाल राजाहरूलाई किराती राजाहरूले मारेर के पाए ? किराँती राजाहरूलाई लिच्छवि राजाहरूले मारेर के पाए ? युद्ध र हत्याबाट आर्जिएको राज्य र सत्ता कहिलेसम्म टिक्छ ? र टिक्यो ? किन वैशाख महिनामा रुखमा नयाँ पालुवा पलाउँछन् र फेरि हिउँदमा ती हरिया पातहरू सुकेर किन झर्छन् ? झरेर पनि फेरि पातहरू पलाउनु नै थियो तर पनि त्यो क्रम किन दोहोरिरहन्छ ? के ती पातहरू सधैँ हरियै भएर स्थिर भइरहदा हुँदैनथ्यो र ? जे जहाँ छ त्यो त्यहीँ नै रहिरहन्छ कि चलायमान हुन्छ ? पारीको माटो र ढुंगा उठाएर सहर बसाउदा हजारौँ वर्षपछि उठाएको माटो र ढुंगा त्यहीँ नै रहिरहन्छ कि पहिलेकै स्थानमा पुग्छ ? मान्छेले धर्म कि अधर्मको रक्षा गरिरहेको छ ? मान्छेले ईश्वर कि अरु कसैको सेवा गरिरहेको छ ? सत्र हज्जारको बलिदानले कसले के पाए ? हिजो मुसलमानहरूले हिन्दुहरूलाई भारतबाट लखेट्दा मुसलमानहरूले के पाए ? अनि भारतमा हिन्दुहरूले मुसलमानहरूलाई मारेर के पाए ? कसैले कसैलाई मारेर के पाए ? बिहान सूर्य उदाउँछ र फेरि साँझ परेपछि अस्ताउँछ फेरि भोलिपल्ट सूर्यले बिहानै उदाउँनुपर्छ किन यो क्रम सधैँभरि रहिरहन्छ ? आखिर हरेक दिन उदाउनु नै छ भने के सधैँभरि सूर्यले उदाइरहँदा हुँदैन र ? किन सूर्यलाई प्रत्येक साँझ अस्ताउनु पर्छ ? किन जन्म छ अनि फेरि मृत्यु ? सधैँ जीवन अनन्तरुपले स्थिर भइँरहदा हुँदैनथ्यो र ? किन सधै मृत्यु भइरहन्छ ? के मृत्युको पनि मृत्यु हुदा राम्रो हुँदैनथ्यो र ? किन संसारभरि एकै रंगका फूलहरू फूल्दैनन् ? किन फूलबारीमा रंगीबिरंगी फूलहरू फूल्छन् ? किन मुसलमान देशहरूमा इसाईहरू हुन्छन् ? किन युरोपमा हिन्दुहरू बढ्दैछन् ? किन नेपाल र भारतमा इशाईहरू बढ्दैछन् ? प्रश्नै प्रश्नहरूमा हामी रुमल्लिइरहेका छौँ तर यी प्रश्नहरूमा नै हाम्रा सबै उत्तरहरू लुकेका छन् ।
जमिन कसैको पनि होइन नत माटो नै कसैको हो । देशभन्दा जनता नै महत्वपूर्ण र ठूला हुन्छन् किनकि देशविनाका पनि जनता हुन सक्छन् तर जनताविनाको देशभन्दा त चिहानघारी नै महत्वपूर्ण हुन्छ । हामीलाई जनताभन्दा देश ठूलो हुन्छ भनेर सिकाइएको र हाम्रो मगज धोइएको छ । माटोभन्दा ठूली आमा हुन्छिन् तर माटोसँग आमालाई तुलना गर्न हामीलाई सिकाइएको छ । मान्छे र मान्छेले बगाएको रगतभन्दा देशको सीमारेखा ठूलो हुन सक्दैन तर हामीलाई झुटो पाठ पढाइएको छ । किन देशका लागि मर्ने ? यसको उत्तर हो देशको लागि हामीले मर्ने होइन तर हामीले त देशको लागि जीवन जिउनुपर्छ । एउटा नेपाली नागरिक नेपालको लागि मर्न सक्छ तर त्योभन्दा ठूलोचाहिँ आफ्नो देश र सारा जगतको लागि जिउनु हो र सारा मानव जातिको र सारा जीवनको लागि जिउनु हो । त्यसैले यो पुष्टि हुन्छ कि देशको लागि मर्नुभन्दा जिउनु ठूलो हो । नाथुराम गोढ्से भारतीय थियो उसले महात्मा गान्धीको हत्या गर्यो तर मदर टेरेसा भारतीय थिइनन् तर उनले भारत, भारतीय र समस्त मानव जातिको लागि आफ्नो जीवन दिइन् ।
पदार्थ अनन्त वस्तु हो त्यसैले यो सधैँभरि रहिरहन्छ । पदार्थको स्वरुप मात्र परिवर्तन गर्न सकिन्छ तर यसलाई नष्ट गर्न सकिँदैन । कालापानी र लिम्पियाधुरा न त नेपालको नै हो न त भारतको नै किनकि यी दुई देशमध्ये कुनैले पनि कालापानी र लिम्पियाधुराको सृष्टि गरेका होइनन् । यो भ्रम मात्र हो कि आज मानिसहरू माटोको लागि लडिरहेकाछन् र भोलि पनि लड्नेछन् र दुवै देशका मानिसहरूले मृत्युपछि मात्र बुझ्नेछन् कि एकै आमाका कोखका दाजुभाइहरू एक टुक्रा मिथ्या जमिनको लागि लडेर रगत बगाएका रहेछन् र ज्यान दिएका रहेछन् । हिजो नेपालले यो जमिनको उपभोग ग¥यो र आज भारतले गर्दैछ र कसलाई थाहा छ भोलि कालापानी र लिम्पियाधुरा चीन वा अमेरिकाको नक्सामा पर्नेछ । आखिर मत्स्य न्याय न हो–निलो व्हेल माछाको अघि साना भुरा माछाहरूको के नै जोड चल्छ र ? न त कासिमर भारतको हो न त पाकिस्तानको नै । जे आफ्नो होइन त्यसका लागि मानिसहरू लडिरहेका छन् ।
देश कसैको होइन न त संसार नै कसैको हो । हामी जन्मनुभन्दा पहिले पनि संसार थियो, आज पनि छ र भोलि पनि हुनेछ । पुस्तौँ पुस्ताहरूलाई यो जगतले फटाएको छ तर आज यो सत्यलाई नबुझेर हामीले आफैँलाई फटाइरहेका छौँ । यही त छ जीवनको पीडा ! आज आफूलाई फटायो अनि भोलि अर्कोलाई फटायो तर कति सुन्दर हुन्थ्यो जीवन यदि अरुको फाटेको जीवनलाई सिउन सके ! आज भारतले कालापानी र लिम्पियाधुरा नेपाललाई फर्काइदेओस् अनि भोलि भारतले काश्मिर पाकिस्तानलाई फर्काइदेओस् अनि कति ठूलो आनन्द हुनेथियो चारै दिशामा । अनि मात्र लिनुमा भन्दा दिनुमा अझ धेरै आनन्द छ भन्ने कुरा थाहा हुनेथियो ।
अयोध्या नत हिन्दुहरूको नै हो न त मुसलमानहरूको नै हो किनकि यी दुवैको अस्तित्वभन्दा पहिले अयोध्या त्यही नै थियो । न त कुनै हिन्दुहरूले नत कुनै मुसलमानहरूले नै भोलि अयोध्यालाई बोकेर कतै टाढा लैजान सक्छन् । यो दुनियाँ कसैको होइन हामी भ्रममा जिएका छौँ वास्तविकता यही हो कि के हिन्दु, के इसाई, के मुसलमान, के शिख, के बुद्धिस्ट सबै एकै ईश्वरका रचना, उनै एकै पुर्खाका सन्तान र एकै कोखका सहोदर दाजुभाइ हुन् ।
नेपालमा कसैलाई किन बस्न दिने ? तर मचाहिँ अर्कै प्रश्न गर्छु नेपालमा कसैलाई किन बस्न नदिने ? नेपालवाट कसैलाई किन लखेट्ने ? किन कसैलाई देश निकाला गर्ने ? जे रोपिन्छ त्यही नै फल्ने हो र हामीले त्यसैको नै कटनी गर्ने हो । आज हामीले कसैलाई लखेट्छौँ अनि भोलि हामीलाई कसैले लखेट्छ । आज हामी कसैको उठिबास लगाउछौँ अनि भोलि कसैले हाम्रो उठिबास लगाउँछ । आज हामी कसैलाई आँशु पिउन बाध्य बनाउँछौ अनि भोलि अर्काले हामीलाई आँसु पिउन लगाउँछ । आखिर कति पिडा छ आँसु पिउनुमा ! तर बुझ्यौ भने जीवन जिएको तब सार्थक हुन्छ जब हामी अरुको घाउमा मलम लगाउँछौ अनि जीवन तब धन्य हुन्छ जब हामी अरुको लागि जिउन थाल्छौ । अब कसैलाई देशबाट लखेट्ने होइन तर उनीहरूलाई आश्रय दिऔँ, तिर्खाएकाहरूलाई पानी पिउन दिऔँ, भोकाएका छन् भने खाना दिऔँ, बस्त्र नपाएर नाङ्गो छन् भने एकसरो कपडा दिऔँ किनकि एक दिन कटनी गर्नु नै त छ, मंसिर महिनामा भकारीमा धान थन्क्याउनु नै त छ किनकि याद गरौ हामी जे रोप्दैछौँ हामीलाई त्यसैको फल मिल्नेछ र त्यसैको नै कटनी हुनेछ ।
देशको लागि किन अर्कालाई मार्ने ? देशको लागि किन आफूलाई मार्ने ? गोपालवंशीहरूलाई महिषपालवंशीहरूले मारे अनि जे रोपेको थियो महिषपालवंशीहरूले त्यही नै कटनी गरे र हिसाबकिताब हुँदा किरातवंशीहरूबाट महिषपालवंशीहरूले मृत्यु मात्र पाए । इतिहासमा एक पापीलाई तह लगाउन अर्को पापी खडा भएको देखिन्छ, एउटा दुष्टलाई अर्को दुष्टले मारेको देख्न सकिन्छ भने धर्मात्माका हजारौँ पुस्ताहरू आशिषित भएको पनि देख्न सकिन्छ । किरातवंशीहरूले त्यही नै सिकेका थिए अनि हत्या गरेर शासन सत्ता पाएका थिए अनि फेरि अर्कोले त्यही गर्यो । अनि लिच्छबीहरू आए उनीहरूको पनि हिसाब मल्लवंशीहरूले मिलाइदिए र मल्लवंशीहरूको हिसाब पृथ्वीनारायण शाहले मिलाइदिए र तिनै बडामहाराजा र उनका सन्तानहरूको हिसाबकिताब उनकै सन्तान र दरसन्तानहरूले आजसम्म मिलाइरहेका छन् । उनीहरूले बुझेको यही नै थियो कि उनीहरूको लागि जीवन त केवल आफू मर्नु र अरुलाई पनि मार्नु मात्र थियो त्यसैले त पृथ्वीनारायण शाह र उनका सन्तानहरूबाट आज पनि हिसाब मगिँदैछ । कहिले कसैलाई कसैले मार्ने अनि कसैले कसैलाई मार्ने । उनीहरूले यति नै बुझे र क्षणिक शक्तिलोलुपता र पदको लागि उनीहरूले आफ्नी आमाको कोखलाई नै रित्याइदिए । त्यसैले आजपनि उनीहरूसंग हिसाब मागिँदैछ, भोलि पनि यसको हिसाब मागिनेछ र उनीहरूले सधैँभरि हिसाब दिइरहनुपर्नेछ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई हटाउने क्रममा अपनाएको कठोर शैली र पर्याप्त पुनर्वासको व्यवस्था नगरेको विषय अहिले नेपालको राजनीतिमा गम्भीर बहसको विषय बनेको छ । केही महिनादेखि सुरु भएको उठिबास अभियानका क्रममा करिब दुई हजार छ सय परिवार अर्थात् करिब १५ हजार मानिस विस्थापित भए । सरकारले नदी किनार तथा सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउने नीति अघि सारे पनि विस्थापित परिवारका लागि दीर्घकालीन पुनर्वासको ठोस व्यवस्था नगरी केवल बस्ती हटाउने कार्यले गम्भीर मानवीय संकट निम्त्यायो । विस्थापित परिवारलाई कीर्तिपुरलगायतका विभिन्न स्थानमा राखिएका अस्थायी आश्रयस्थलको अवस्था पनि अत्यन्त दयनीय रह्यो ।
पछिल्लो समय परेको अविरल वर्षाका कारण कतिपय आश्रयस्थल डुबानमा परेपछि विस्थापित परिवारले थप कष्ट व्यहोर्नुपर्यो । त्यसमाथि सरकारले ती अस्थायी आश्रयस्थल समेत खाली गर्न निर्देशन दिएपछि कतिपय परिवार कहाँ जाने भन्ने अन्योलमा परे । यस अवस्थाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र असहाय परिवारको खाद्य सुरक्षा, स्वास्थ्य तथा आवासको अधिकारमाथि गम्भीर प्रश्न खडा गर्यो ।
सार्वजनिक जग्गा तथा नदी किनार अतिक्रमणमुक्त गर्ने राज्यको अधिकार र दायित्वलाई अस्वीकार गर्न सकिँदैन तर त्यसको कार्यान्वयन गर्दा मानवीय संवेदना, कानूनी प्रक्रिया, वैकल्पिक आवास र पुनर्वासको सुनिश्चितता सहित हुनुपर्थ्यो । गरिबीलाई अपराधका रूपमा होइन, राज्यको सामाजिक दायित्वका रूपमा बुझेर समाधान खोज्नु नै लोकतान्त्रिक र न्यायपूर्ण शासनको परिचय हो । विकास र सुशासनका नाममा कुनै नागरिक घरबारविहीन नहोस् भन्ने सुनिश्चित गर्नु नै लोकतान्त्रिक राज्यको वास्तविक जिम्मेवारि हो । अन्यथा सत्ता, शक्ति र पदको उन्माद धेरै दिन टिक्न सक्दैन भन्ने कुरा इतिहासका घटनाहरू र वर्तमानमा देखिएका दृश्यहरूले स्पष्ट पारेका छन् ।