Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंगलबारसम्म चल्ने

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंगलबारसम्म चल्ने


काठमाडौं । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण मंगलबार(मङ्सिर २६ गते)सम्म चल्ने छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हिजो(शनिबार)देखि काठमाडौँमा सुरु भएको महोत्सवको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर गरेका हुन् ।

अध्यक्ष मगरले चलचित्रमार्फत मानव अधिकारका विषयलाई सहज रुपमा बुझाउन सकिने हुँदा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताएका छन् । उनले भने, ‘मानव अधिकारको विषयलाई चलचित्रमार्फत प्रवद्र्धन गर्न अझै सहज हुन्छ । चलचित्रमा देखाइने शैलीलाई आममानिसले पनि बुझ्नुहुन्छ । त्यसैले त्यस्ता विषयलाई प्रोत्साहन गर्न यो महोत्सवको भूमिका र आवश्यकता महत्वपूर्ण छ ।’ पछिल्लो समय विश्वमा युद्ध अपराध, मानवताविरुद्धको अपराध, मानव अधिकारको उल्लङ्घन, विभिन्न समूह र समुदायप्रति हुुने विभेद बढ्दै गएकाले यस्ता महोत्सवको सान्दर्भिकता झन् बढेको उनले बताए ।

महोत्सवका निर्देशक तथा मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीले सामाजिक न्याय र मानवअधिकार प्रवद्र्धनका उद्देश्यले सुरु गरिएको महोत्सवको ११औँ संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको बताए । उनले मानवअधिकारको विषयलाई थप सशक्त बनाउन यस्ता महोत्सवले भूमिका खेल्ने भन्दै यसले स्वदेशी तथा विदेशी चलचित्रकर्मी र मानव अधिकारकर्मीबीच अन्तरक्रियाको अवसर प्रदान गर्ने बताए ।

यसवर्षको महोत्सव मुख्य रुपमा ‘सामूहिक अधिकार’को विषयमा केन्द्रित रहेकाले सोही सन्दर्भ जोडिएका विषवस्तुका चलचित्रहरु छनौट गरिएको महोत्सवको निर्णायकमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शनीसँगै महोत्सव सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालित महोत्सवमा २६ देशका ५४ वटा चलचित्र प्रदर्शन हुनेछन् ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया