Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिनेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइयो

नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइयो


राँझा (बाँके) । एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले बिहीबार नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार राति चन्द्रमा देखिएपछि नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहीबार बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् ।

नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिताका साथै मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । बिहीबार बिहानैदेखि ईदगाहमा सयौँ व्यक्तिहरूले एकापसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरेका छन् ।

ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको पनि उपस्थिति थियो । नेपालगञ्जका मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेको बताए । ईदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ ।

मुस्लिम धर्मगुरु मञ्जरीका अनुसार ईदुल फित्र मुस्लिम समुदायको सबभन्दा ठूलो र महान पर्वका रूपमा मनाउने गरिएको छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ ।

“रोजा हरेक बालबालिका, महिला, पुरुषमाथि अनिवार्य फर्जका रुपमा रहेको छ । यदि कुनै व्यक्ति एकदमै बिरामी भई व्रत अथवा रोजा बस्न नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिब व्यक्तिलाई खाना खुवाउनुपर्छ ।” मञ्जरीले भने ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया