Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिआज सीताराम स्वयम्बर हुँदै, राष्ट्रपतिद्वारा शुभकामना सन्देश

आज सीताराम स्वयम्बर हुँदै, राष्ट्रपतिद्वारा शुभकामना सन्देश


काठमाडौं । सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज(आइतबार) सीताराम स्वयम्बर हुँदैछ । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी गत मङ्सिर २६ गतेदेखि सुरु भएको थियो ।महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान जनकपुरस्थित बाह्रबिघामा सीताराम स्वयम्बर हुने छ ।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको प्रसङ्गअनुसार आज स्वयम्बरको आयोजना हुन लागेको हो । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।

आज राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्दछन् । सोही मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँच पटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता)लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयम्बर हुन्छ । तत्पश्चात लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने आजै राति मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।

यसअघि पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला, तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’, चौथो दिन शुक्रबार तिल्कोत्सव अर्थात् राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्न, वाग्दान) र हिजो शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिएको थियो ।

आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने बताइएको छ ।

त्यसैगरी, आज राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताउँदै आज शुभकामना सन्देश दिएका छन् । यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गर्दै प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् । उनले सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गरेका छन् ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया