Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमासुजन्य पदार्थमा यस वर्ष आत्मनिर्भर बन्ने सरकारी लक्ष्य, दशैँमा भने आयात गरिने

मासुजन्य पदार्थमा यस वर्ष आत्मनिर्भर बन्ने सरकारी लक्ष्य, दशैँमा भने आयात गरिने


काठमाडौं ।
सरकारले चालू आर्थिक वर्ष (२०७७/०७८) को अन्त्यसम्ममा मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर बन्ने बताएको छ । सरकारले मासुजन्य पदार्थ वृद्धि गर्न केही वर्षअगाडि सुरु गरेको कार्यक्रमको प्रतिफल देखिनथालेकाले हाल खसीबोकाको उत्पादनमा वृद्धि हुँदा यस आवको अन्त्यसम्ममा मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर बन्नसक्ने आँकलन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छ । स्वदेशमै उत्पादित खसी, बोकाले बजार मागको करिब ९५ प्रतिशत धान्नसक्ने स्थिति बनेको मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उनले भनिन्, ‘यो वर्ष मागमा सामान्य कमी देखिन सक्ने भएकाले नेपालकै उत्पादन पर्याप्त हुने देखिन्छ ।

मन्त्रालयका अनुसार यो आर्थिक वर्षको अन्त्यसम्ममा लगभग शतप्रतिशत मासुजन्य पदार्थको माग नै धान्नसक्ने स्थिति रहेको छ  । त्यस्तै क्वारेन्टाइन जाँच सुरु गरिएपछि २०७५ फागुनदेखि खसी, बोकाको आयातमा भारी गिरावट आएको छ । तर, यसैबीच दशैँमा भने स्वदेशमा उत्पादित मासुजन्य पदार्थले माग नधान्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार मन्त्रालय बजारमा मासुजन्य पदार्थको अभाव हुन नदिन सरोकारवाला निकायहरुसँग समन्वय गरी अघि बढेको छ ।

काठमाडौं उपत्यकामा दैनिक एक हजार वटादेखि १, २ सयवटा खसी बोकाको माग रहेको र दशैंको समयमा करिब ४० हजार वटा खसी, बोका आवश्यक पर्ने गरेको आँकलन मन्त्रालयले गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खसी, बोका एक हजार वटा एवं च्यांग्रा एक हजारवटा गरी मागअनुसार खसी, बोका आपूर्ति गर्ने लक्ष्य राखिएको छ । बजारको स्थिति हेरी थप खसी, बोका आपूर्ति गर्न पशु सेवा विभागसँग समन्वय गरिएको छ । नेपालभित्रैबाट खसी, बोका काठमाडौं ल्याउँदा विभिन्न नाकाहरूमा हुने अवरोध र शुल्क व्यवस्थापनका लागि सम्बन्धित पक्षसँग समन्वय हुनुपर्नेछ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार काठमाडौं उपत्यकामा दैनिक दुई सयवटा राँगा तथा भैँसीको माग रहेकोमा दशैंको समयमा भने दुई हजारवटा राँगा, भैँसी आवश्यक पर्ने अनुमान छ । तर, कोभिडका कारण मागमा केही कमी आउने देखिएको छ । देशभित्रबाट करिब सात सयवटा राँगा, भैँसी मात्र आपूर्ति हुने भएकाले बाँकी आयात गर्नुपर्ने अवस्था छ । आयात गर्दा भने भारतबाट मासुजन्य स्वस्थ्य प्रमाणित भई आएका मासुजन्य पदार्थ आयात गरिनुको साथै आयातित मासुजन्य पदार्थले माग धान्न नसकेमा पशु सेवा विभागसँग समन्वय गरिने भएको छ ।

मासुजन्य पदार्थमध्ये माछा, अण्डा, कुखुरा र बंगुरको आपूर्तिमा समस्या नदेखिएकोले दशैँमा यिनको अभाव हुने स्थिति छैन । कुखुराको मासुको मूल्य तीन वर्षयताकै न्यून विन्दुमा पुगेको छ । हाल कुखराको मासुको बजार मूल्य करिब तीन सय रुपैयाँ पुगेको छ । त्यसैगरी फलफूल तथा तरकारीको आपूर्ति स्थिति सामान्य रहेको बताउँदै मन्त्रालयले चालू वर्ष मुलुकमा तरकारीको उत्पादन कम भएको र आयातित तरकारीमा नै भर पर्नुपर्ने भएकाले मूल्यमा केही वृद्धि भएको छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार असोज महिनामा प्रतिदिन औसत एक हजार नौ सय मेट्रिक टन आयात भएकोमा असोज २५ गते मात्र २ हजार ७ सय मेट्रिक टन तरकारी आयात भएको छ । यस्तै मुलुकमा हुने प्याजको उत्पादन अपुग हुने र भारत सरकारले प्याजको निकासीमा प्रतिबन्ध लगाएका कारण प्याजको आपूर्ति र मूल्यमा भने केही समस्या देखिएको छ । प्रत्येक वर्षजसो यही समयमा भारतले प्याजको निकासी प्रतिबन्ध लगाउने गरेकाले नेपालको उत्पादन वृद्धि गर्न पहल गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

मन्त्रालयले फलफूलको मूल्यमा भने सामान्य उतारचढाव देखिएको बताएको छ । तथापि थोक बिक्रेताबाट खुद्रा बिक्रेतासम्म आइपुग्दा हुनसक्ने मूल्यवृद्धिलाई नियन्त्रण गर्न अनुगमन बढाएको छ । फलफूलको आयात पनि निरन्तर भइरहेकाले बजारमा फलफूलको अभाव नहुने मन्त्रालयको भनाइ छ । असोज महिनामा प्रतिदिन औसत तीन सय ७० मेट्रिक टन फलफूल आयात भएकोमा चाडबाडको समय नजिकिँदै जाँदा फलफूलको आयात अझ बढ्ने प्रवृत्ति देखिएको छ । असोज २५ गते मात्र सात सय मेट्रिक टन फलफूल आयात भएको छ ।

मन्त्रालयका अनुसार फलफूल, तरकारीजस्तै मुलुकभर खाद्यान्न आपूर्तिको स्थिति सामान्य रहेको बताइएको छ । चाडबाडमा खाद्यन्न अभाव नहोस् भनी मन्त्रालयले सुगमका साथै दुर्गम जिल्लाहरुमा आवश्यक पर्ने खाद्यान्न मौज्दात समेत रहेको जनाएको छ । उसले दुर्गमका २३ जिल्लाहरूलाई लक्षित गरी करिब १५ हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको तथा यसको ढुवानी गर्ने जिम्मेवारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई प्रदान गरेको छ ।

यसैबीच लिमिटेडले दुर्गमका जिल्लाहरूमा खाद्यान्न ढुवानीको कार्य निरन्तर रहेकाले खाद्यान्न अपुग हुने स्थिति नरहेको जानकारी दिएको छ । आवश्यकताअनुसार कतिपय जिल्लाहरूमा हवाइ ढुवानी समेत गरिएको छ । देशका अन्य भागमा खाद्यान्नलगायतका उपभोग्य वस्तुको आपूर्ति सहज नै छ । दशैँ, तिहार र छठसम्म खाद्यान्नको अभाव हुने स्थिति नरहेको लिमिटेडका अधिकारीहरुले बताएका छन् । यस्तै मुलुकभर एक लाख १६ हजार मेट्रिक टन चामल मौज्दात रहेकोमा लिमिटेडसँग १४ हजार मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख दुई हजार मेट्रिक टन चामल उपलब्ध रहेको छ ।

यतिबेला धान काट्ने समय सुरु भएको र केही खाद्यान्न आयात पनि भइरहेकाले खाद्यान्न आपूर्तिमा समस्या छैन । असोज महिनामा प्रतिदिन औसत पाँच हजार सात सय मेट्रिक टन खाद्यान्न आयात भएकोमा असोज २५ गते मात्र आठ हजार मेट्रिक टन खाद्यान्न आयात भएको थियो ।

त्यसैगरी असोज महिनामा दाल तथा गेडागुडी प्रतिदिन औसत सात सय मेट्रिक टन आयात भएकोमा असोज २५ गते मात्र एक हजार दुई सय मेट्रिक टन दाल तथा गेडागुडी आयात भएको थियो । यसरी दाल तथा गेडागुडी आयात तथा मौज्दात रहेको हुँदा चाडबाडमा उक्त वस्तुहरुको समेत समस्या नहुने बताइएको छ । यसैगरी उक्त समयमा नुन र चिनी समेत अभाव नहुने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया