Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वसांसद यादवसहित राजनीतिक दलका नेता र कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

पूर्वसांसद यादवसहित राजनीतिक दलका नेता र कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, माघ २
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसांसद बीपी यादव, पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत, तत्कालीन राजाप केन्द्रीय सदस्य हरिनारायण मण्डल भन्ने हरि मण्डललगायतका व्यक्तिविरुद्ध विशेष अदालत काठमाडौंमा भष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारका अनुसार सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरी उनीहरुको समूहले भ्रष्टाचार गरेको फेला परेको छ ।

अख्तियारका अनुसार सुनियोजित तरिकाले फर्जी उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गर्ने उद्देश्यले भ्रष्टाचारको कसुरमा प्रत्यक्ष संलग्नता देखिएका पूर्वाधार कर्यालय सिरहाका प्रमुख गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादव, पूर्वसांसद बीपी भन्ने विश्वनाथ प्रसाद यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल, वीरेन्द्रकुमार मण्डल, कृष्णकुमार यादवले एक अपासमा मिलेमतो गरी आफूहरुलाई गैरकानुनी लाभ पु-याउने उद्देश्यले सप्तरी जिल्लाको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपीमा अनधिकृत रुपमा विवरण सच्याएर भ्रष्टाचार गरेका थिए ।

उनीहरुले अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिस माग भई आएबमोजिम सिफारिस गरिएको भन्ने व्यहोराको पत्रलाई अनधिकृत रुपमा सच्याई अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ अन्तर्गत इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधामबाट आएको बजेटबाट उक्त सडक निर्माण गर्नको लागि गठन भएको उपभोक्ता समितिद्वारा निर्माण कार्य सञ्चालन गरी दिनुहुन भन्ने सिफारिस बनाई सम्झौताका लागि पूर्वाधार विकास कार्यालय सिराहाको सम्पर्क इकाइ कार्यालय राजविराजमा पेस गरेका थिए । उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार आरोपीहरु पूर्वसांसद यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरि मण्डल, वीरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवसमेत चार जनाले एउटा प्रायोजनको लागि गठित उपभोक्ता समितिको कागजात सच्याई गलत उपभोक्ता समिति गठन गरेको भन्नेलगायतका गलत कागजातहरु पेश गरी बीपी यादवसमेत चार जनाले तथा राजकुमार गोइत र भागवत यादवसमेत छ जना भई गलत कागजातको आधारमा योजना सम्झौता गर्दा समेत उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारीहरुको उपस्थितिविना नै उक्त समितिको नाममा योजना सम्झौतामा सम्झौता मिति लगायतका खुलाउनुपर्ने महत्वपूर्ण विवरणसमेत नराखी सम्झौता गरेको र गराएको तथा कृष्णकुमार यादवसमेतको नाममा सिद्धार्थ बैक राजविराज शाखामा खाता खोल्ने सिफारिससमेत गरी/गर्न लगाई सरकारी सम्पत्ति हानि/नोक्सानी गरेका हुन् ।

अख्तियारले आरोपीहरुमध्ये राजकुमार गोइत र भागवत यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको उद्योग गर्ने कसुर भएको र अन्य व्यक्तिहरु बीपी यादव, हरि मण्डल, वीरेन्द्रकुमार मण्डल र कृष्ण कुमार यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरको उद्योग भएकाले राजकुमार गोइत र भागवत यादवलाई २५ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ र सोही उपदफाको खण्ड ‘च’ मा उल्लिखित सजायको आधा सजाय हुन र आरोपीहरु बीपी यादव, हरि मण्डल, वीरेन्द्र कुमार मण्डल र कृष्णकुमार यादवलाई बिगो २५ लाख कायम गरी उल्लिखित सजायको आधा सजाय हुन माग गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया