Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटा पाँच खर्ब ३३ अर्ब ६४ करोड

व्यापारघाटा पाँच खर्ब ३३ अर्ब ६४ करोड


काठमाण्डौँ ,माघ ६

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले वैदेशिक व्यापारमार्फत पाँच खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँको घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो पाँच महिनाको प्रतिवेदनअनुसार कुुल वस्तुु व्यापारघाटा छ दशमलव तीन प्रतिशतले घटेर उक्त परिमाणमा कायम रहेको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तुु निर्मात बढेर ४७ अर्ब ६२ करोड रुपैयाँ पुुगेको छ । यो निर्यात गत आवको सोही अवधिको तुुलनामा २७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनामा कुल वस्तु आयात चार दशमलव दुुई प्रतिशतले घटेर पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ दशमलव दुुई प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको पाँच महिनामा कुुल निर्यात १२ दशमलव सात प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४८ दशमलव छ प्रतिशतले निर्यात बढ्दा चीनतर्फको निर्यात छ दशमलव दुुई प्रतिशत बढेको छ । यस अवधिमा अन्य मुलुकतर्फ तीन दशमलव दुुई प्रतिशतले निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढे पनि चालू आवको पाँच महिनामा जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुहरुको निर्यात घटेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तुु आयात ३४ दशमलव दुुई प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौ दशमलव पाँच प्रतिशत र दुुई प्रतिशतले घट्दा चीनबाट भएको आयात १५ दशमलव छ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको भए पनि एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधनतथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, मेची, तातोपानी र कञ्चनपुरबाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी, कञ्चनपुर र रसुवाबाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ  । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा व्यापारघाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दशमलव दुुई प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । निर्यातआयात मूल्य सूचकांक २०७६ मंसिर महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक विन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव दुई प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार २०७५ मंसिर महिनामा वार्षिक विन्दुगत आधारमा चार दशमलव चार प्रतिशतले घटेको व्यापारको शर्त २०७६ मंसिर महिनामा तीन दशमलव दुुई प्रतिशतले बढेको छ ।

चालू खाता घाटा ७० अर्ब ३२ करोड
चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा मुुलुकको चालू खाता घाटा ७० अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब १९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा एक अर्ब चार करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रहेको छ । यसैगरी समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ५७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ७८ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पाँच महिनासम्ममा ७५ करोड एक लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको छ ।

तीन खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स
चालू आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) शून्य दशमलव एक प्रतिशतले बढेर तीन खर्ब ७६ अर्ब ९९ करोड कायम रहेको छ । राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह शून्य दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव दुुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिअन्तर्गत संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८ दशमलव चार प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुुसार पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात दशमलव छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक दशमलव चार प्रतिशतले घटेको थियो । यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति शून्य दशमलव आठ प्रतिशतले कमी आई चार खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २९ दशमलव दुुई प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया