Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४१ हजार एक सय ४० जना उच्च निगरानीमा

४१ हजार एक सय ४० जना उच्च निगरानीमा


काठमाण्डौं,चैत १८

सरकारले विदेशबाट आएका ४१ हजार एक सय ४० जनालाई कोरोनाको उच्च जोखिम भएका व्यक्ति भनेर निगरानी बढाएको छ । गाउँपालिका तथा नगरपालिकाहरुले प्रत्येक वडाबाट उनीहरुको विवरण संकलन गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । यसरी विदेशबाट आउनेहरुको तथ्यांक संकलन गर्ने कार्य जारी रहेको भन्दै अझै बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म नेपालमै बसिरहने कुनै पनि नेपालीलाई कोरोना लागेको पुष्टि भएको छैन । सबै पाँच जना नै विदेशबाट आएका व्यक्तिहरुलाई कोरोना लागेको पुष्टि भएको कारण स्थानीय तहले पनि विदेशबाट आउनेहरुमाथि निगरानी बढाएको हो । उनीहरुलाई कोरोनाको उच्च जोखिम भएका व्यक्तिको रुपमा लिएर स्थानीय तहले नै निगरानी गरिरहेका छन् । उनीहरुको स्वास्थ्यमा समस्या आउनासाथ परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको सोमबारको नियमति पत्रकारसम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा जथाभावी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न आग्रह गरेका हुन् । ‘स्वास्थ्यकर्मीको निजी धारणा र अनुभव सामाजिक सञ्जालमा सार्वजनिक भइरहकामा यस्ता निजी धारणा र अनुभवले जनतामा भ्रम सिर्जना गरेको हुँदा कुनै पनि स्वास्थ्यकर्मीले मन्त्रालय वा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेका सूचना सामग्रीभन्दा फरक नहुने गरी कोभिड–१९ सँग सम्बन्धित धारणा नगर्न÷नगराउन अनुरोध गर्दछौँ’, पत्रकार सम्मेलनमा उनले भने ।

यस्तै, अहिले कुनै पनि रोगले मानिसको मृत्यु भए पनि त्यो कोरोनाको कारणले भयो भन्ने प्रचार भएकाले त्यसो नगर्नसमेत सञ्चारमाध्यमलाई अनुरोध गरे । ‘अरु रोगले मान्छेको मृत्यु भयो भने अहिले कोरोनाको कारणले भन्ने गरिएको छ’, उनले भने, ‘नेपालमा अहिलेसम्म कोरोनाको कारणले कोही मरेको छैन । सङ्क्रमण भएकाको अवस्था सामान्य रहेको छ ।’ उनले अन्य मुलुकमा जस्तो नेपालमा कोरोनाको सङ्क्रमण नफैलिएको भन्दै विदेशबाट फर्किएकालाई माया गरी राम्रोसँग होम क्वारेन्टाइनमा राख्ने हो भने कोरोना नफैलिने बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवारको परीक्षण गर्दा सङ्क्रमण नदेखिएकाले उनीहरूको निगरानी (कन्ट्याक ट्रेसिङ) गरिएको जानकारी दिए । सोमबारसम्म ९ सय ९३ को नमूना परीक्षण गरिएको र ७८ को नतिजा आउन बाँकी रहेको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना आइसोलेसनमा रहेका छन् । यसैगरी सातवटै प्रदेशमा रहेका अस्पतालमा ९३ आइसोलेसनमा रहेका छन् । यस्तै, बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो । पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सोमबार आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिएको बुटवलबाट प्राप्त समाचारमा जनाइएको छ । उनी वैदेशिक रोजगारीका लागि दुवईबाट यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडास्थित भाडाको निवासमा आराम गर्दै बसेका थिए । वैदेशिक रोजगारीमा दुवई रहँदादेखि नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि पनि स्थानीय मेडिकल, मुर्गियास्थित स्वास्थ्यचौकी हुँदै चैत १३ गते मात्र बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसनमा भर्ना भएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया