Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरङ उद्योग व्यापार संघको निर्वाचनमा उद्योग परिसंघ मोरङको हस्तक्षेप !

मोरङ उद्योग व्यापार संघको निर्वाचनमा उद्योग परिसंघ मोरङको हस्तक्षेप !


विराटनगर । मोरङ उद्योग व्यापार संघको नेतृत्व चयनका लागि निर्वाचनको समयसीमा निर्धारण भएसँगै आगामी नेतृत्वका लागि व्यवसायीको दौडधुप नै चलेको छ । संघको ६७औं वार्षिक साधारणसभाले जेठ महिनाको पहिलो हप्ताभित्र ३४औं कार्यसमिति गठनका लागि कार्यकारिणी सदस्यको निर्वाचन गर्ने समयसीमाको टुङ्गो लगाएको छ ।

सोपश्चात यहाँका उद्योगी एवं व्यावसायिक क्षेत्रमा व्यापक चुनावी सरगर्मी बढेको छ । तर मोरङ उद्योग व्यापार संघको चुनावमा नेपाल उद्योग परिसंघ मोरङको सिङ्गो कार्यसमितिले नै ठाडो हस्तक्षेप गर्न थालेको पनि बताउन थालिएको छ । संघको आगामी नेतृत्वका लागि अध्यक्षमा उद्योगी अनुपम राठी निर्विरोधजस्तै देखिएका छन् । तर वरिष्ठ उपाध्यक्षका लागि नेपाल उद्योग परिसंघ मोरङको सिङ्गो कार्यसमितिले अनिल साहको पक्षमा व्यापक लबिङ नै सुरु गरेपछि व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । परिसंघले जथाभावी हस्तक्षेप गरी साहको पक्षमा ब्यापक लविङ गर्न थालेपछि स्थानीय व्यवसायीको एउटा ठूलो समूह संघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उद्योगी विकास कुमार बेगवानीको पक्षमा व्यापक प्रचारमा लागेको छ ।

परिसंघ मोरङका जिम्मेवार पदाधिकारीहरूले नै नाम मात्रैको हार्डवेयर व्यापारी अनिल साहलाई बोकेर संघको वरिष्ठ उपाध्यक्ष आफ्नो अनुुकूलको व्यक्ति बनाउने प्रयासमा लागेको एक व्यवसायीले जानकारी दिए । यसले संघको आगामी नेतृत्वका लागि परिसंघ मोरङको ठाडो हस्तक्षेपले गर्दा वरिष्ठ उपाध्यक्ष को भन्ने गम्भीर प्रश्न उठेको व्यवसायीहरूले बताएका छन् । हार्डवेयर व्यवसायी साह व्यवसायी नभएर एक राजनीतिज्ञ भएको व्यवसायीहरूको दाबी छ । राजनीतिक व्यक्तिलाई व्यवसायीको संस्थाभित्र नेतृत्व दिने कि नदिने भन्ने गम्भीर प्रश्न उठेको संघका पदाधिकारीले नै बताएका छन् । उद्योग परिसंघले संघमा हस्तक्षेप गरी विवादित व्यक्तिलाई उद्योगीको प्रतिनिधिमूलक संस्थामा जिम्मेवारी दिलाएर संस्थाको साख गिराउने काम गरेकोमा व्यवसायीहरूले असन्तुुष्टि समेत व्यक्त गर्न थालेका छन् ।

संघको साधारणसभाले बढीमा आगामी जेठ महिनाको पहिलो हप्ताभित्र निर्वाचन गर्ने गरी समय तालिकालाई अनुमोदन गरेको छ । मोरङ उद्योग व्यापार संघमा सुरुमा १६ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुन्छ । कार्यकारिणी सदस्यबाट बहुमतको आधारमा अध्यक्ष चयन हुने संघको विधानले व्यवस्था गरेको छ । नवनिर्वाचित अध्यक्ष वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था संघको विधानमा छ । मोरंग उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले नयाँ वर्ष २०८१ को कारण देखाउँदै दुुई महिनाभित्र चुनाव गराउने समय माग गरेका थिए । तर उक्त समय सीमालाई साधारणसभाले अध्यक्षको अस्वीकार गरेपछि जेठ महिनाको पहिलो हप्ताभित्र निर्वाचन हुन लागेको हो । यद्यपि, मिति भने तोकिएको छैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया