Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौं (८१ सय ६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता एक सय ६७ दशमलव तीन मेगावाट रहेको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२ दशमलव पाँच मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र नै विद्युत् उत्पादनको तयारी गरेको छ । ‘८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट र २१ दशमलव तीन मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्’, उनले भने, ‘४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोलाको निर्माणले पनि गति लिएको छ ।’

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको छ किलोमिटर दुई सय ७० मिटरमध्ये करिब दुई सय ५० मिटर मात्र सुरुङ खन्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । करिब ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए । अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुई वटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

करिब १४ अर्ब रुपैयाँ लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । मङ्गले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी गरिएको इञ्जिनियर तिमिल्सिनाले बताए । संयुक्त ऊर्जा लिमिटेड प्रवद्र्धक रहेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको बताए ।

२२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको बताए । उनका अनुसार विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ । माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ । सबस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्योलमा परेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया