काभ्रेका ८४९ सहकारीका संचालक सहकारी बन्द गरेर बेपत्ता
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ८४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा ६४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ ।
बनेपा नगरपालिकामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा सङ्घका अध्यक्ष दिलीप शर्मा जङ्गमले काभ्रेमा क्रियाशील सहकारीमा ६ लाख ७९ हजार ८१८ सेयर सदस्य रहेको तथ्याङ्क फेला परेको बताए ।
उक्त प्रतिवेदन मङ्गलबार नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरिएको छ । यसबाट जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ भन्दा करिब तीन लाख १५ हजारले सेयर सदस्य बढी देखिएको अध्यक्ष जङ्गमले बताए । उनका अनुसार क्रियाशील सहकारीमा पाँच हजार ७८२ जना सञ्चालक छन् भने दुई हजार ६५५ कर्मचारी कार्यरत रहेका छन् ।
यस्तै, सञ्चालमा आएका सहकारीमा रु पाँच अर्ब पाँच करोडको सेयरपुँजी रहेको छ भने रु ३६ अर्बको बचत कारोबार रहेको अनुगमनले देखाएको सङ्घले जनायो । उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक रु २४ करोड ९१ लाख राजस्व बुझाइएको अध्ययनले देखाएको छ । पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसङ्गति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जङ्गमले बताए ।
प्रतिवेदनमा सबैभन्दा बढी जिल्लाको प्रमुख सहर बनेपामा रहेका २२० सहकारीमध्ये १२३ क्रियाशील रहेको उल्लेख गरिएको छ । ती सहकारीमा तीन लाख १८ हजार ७३८ सेयर सदस्य छन् । बनेपाको जनसङ्ख्या ६७ हजारमात्रै देखिन्छ । कुल सहकारी तथा सेयर सदस्यमध्ये बनेपामा मात्रै आधा रहेको पाइएको जनाइएको छ । बनेपामा रु दुई अर्ब सेयरपुँजी र १९ अर्ब बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ ।
दैनिकजसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका सेयर सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरले जिल्ला सहकारी सङ्घमार्फत नगरभित्रका सहकारीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएकामध्ये ७७ वटा सहकारी संस्था बितेको चार महिनाको अवधिमा बेपत्ता भएको पाइएको सङ्घले जनायो ।
प्रतिवेदनमा केही सहकारीले कारोबार सुधार गर्न नसकेको बताएका छन् भने केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, विनियममा केरमेट, विनियमबिना सञ्चालन भएकोजस्ता समस्या देखिएको उल्लेख गरिएको छ ।
यस्तै, कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि सहकारीमा देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरूको समूहले प्रतिवेदनमार्फत सुझाव दिएको हो । हाल बनेपाका केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएका छन् ।
डिभिजन सहकारी कार्यालयका अनुसार बनेपामा १४ वटा सहकारी एकीकरण भएका छन् भने १९ वटा सहकारी प्रदेशअन्तर्गतका छन् । ६४ वटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र ६ वटा सहकारीले नियामक निकायमा प्रतिवेदन नबुझाएका जनाइएको छ । बनेपाको तीन सहकारीले नगरको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको सङ्घका अध्यक्ष जङ्गमले गुनासो गरे । रासस
क्याटेगोरी : बैंक बित्त बजार, सहकारी–कृषि
ताजा अपडेट
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया