Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राधिकरणद्वारा शाखा कार्यालयहरूबाट नै बीमादाबी भुक्तानी दिने व्यवस्था गर्न पहल

प्राधिकरणद्वारा शाखा कार्यालयहरूबाट नै बीमादाबी भुक्तानी दिने व्यवस्था गर्न पहल


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरूबाट नै बीमादाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताए ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रूपन्देही जिल्लाको बुटवलमा उद्योगी व्यवसायीसँग भएको बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले न्यूनतम कागजातको व्यवस्था गरी छिटोछरितोरूपमा बीमादाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइएको बताए ।

अध्यक्ष सिलवालले दुर्घटना बीमाको बीमाङ्क वृद्धिका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । अध्यक्ष सिलवालले बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारसँगको बीमासम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट बीमादाबी भुक्तानी तथा गुनासो व्यवस्थापनका साथै बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलगायतका कार्यहरू हुँदै आएको जानकारी दिए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गर्नका लागि बीमा कम्पनीहरू समेत अग्रसर हुनुपर्ने, काठको बीमाका सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने, दुर्घटना बीमाको बीमाशुल्क बढाएर मानवीय क्षतिको विद्यमान बीमाङ्क वृद्धि गर्नुपर्ने, बीमा दाबी भएबमोजिम दाबी भुक्तानी हुनुपर्ने, बीमा सचेतना एवं बीमा शिक्षालाई सामूहिकरूपमा अगाडि बढाउनुपर्ने, बीमा सर्भेयरबाट छिटो प्रतिवेदन बुझाउने अनिवार्य व्यवस्था गरी छिटै दाबी फछ्र्यौट गरिनुपर्नेलगायतका धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल प्रसाद कसजु, शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे, नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, यातायात व्यवसायी संघका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्टलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया