Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमन्त्रीका गैरजिम्मेवार प्रस्तुति

मन्त्रीका गैरजिम्मेवार प्रस्तुति


कोरोनाको उपचार हुँदाहुँदै मृत्युवरण गरेकी काभ्रेकी एक महिलाका आफन्तले समयमै भेन्टिलेटर पाएको भए आफ्नी आमाको मृत्यु हुने थिएन कि भनी गुनासो गरिरहकै बेला यता स्वास्थ्यमन्त्रीले नागरिकको त्यस्तो पीडायुक्त भनाइलाई भेन्टिलेटरको असामयिक र सरकारविरोधी गीत भन्ने संज्ञा दिइरहेका थिए ।

अस्पताल घुमाउँदाघुमाउँदै ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी काभ्रे पाँचखाल नगरपालिका–१ की ती महिलाको समयमा भेन्टिलेटर नपाएर मृत्यु भएको भन्ने खुल्यो । चिकित्सकहरूले समेत त्यस्तै प्रतिक्रिया दिए । त्यसपछि आफन्तको पनि त्यस्तै प्रतिक्रिया आयो । यो प्रतिक्रिया स्वाभाविक पनि थियो । कोरोनाका बिरामीका लागि समयमा भेन्टिलेटर महत्वपूर्ण उपचार पद्धति हो । त्यसै कारण अस्पतालमा भेन्टिलेटरको खोजी हुन थालेको हो । यो ठाउँमा बिरामीले त्यही भेन्टिलेटर पाइनन् र मृत्युवरण गर्नुप-यो । तर यता देशको समग्र स्वास्थ्य व्यवस्थाको जिम्मा लिएका मन्त्रीले भने त्यति कुरा पनि भन्न नपाउनेगरी प्रतिक्रिया दिए सार्वजनिक कार्यक्रममा ।

सरकारले कोरोनाको जोखिमका कारण सभासम्मेलनहरू गर्न नपाइने भनेकै बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको ६१औं वाषिर्कोत्सव कार्यक्रमको उद्घाटन गरे । यो आफैँमा एउटा आपत्तिको विषय थियो । त्यो कार्यक्रममा उनले दिएको सन्देश पनि उदेगलाग्दो नै थियो । उनले भने, ‘यो जोखिम भारतमा नसकिउन्जेल हाम्रो देशमा सकिँदैन भन्ने कुराका बारेमा कुनै प्रशिक्षण चलाइराख्नुपर्छजस्तो मलाई लाग्दैन ।

हाम्रो हावापानी, रहनसहन, बसउठ, खानपिन, अहिले यो मानवताका पालादेखि होइन, देवीदेवताकै पालादेखिको सम्बन्ध, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, विभिन्न खालका सम्बन्धहरूका कारणले त्यहाँ समाप्त नहुँदासम्म यहाँ समाप्त हुने कुरा गाह्रै लाग्छ ।’ जब सरकराले नै यस्तो निराशायुक्त अभिव्यक्ति दिन्छ भने त्यसपछि आम नागरिकले के बुझ्लान् भन्ने अनुमान गर्न सकिन्छ । यो भनाइले नै देवीदेवतासम्मले पनि भारतमा निको नहुन्जेल नेपालमा निको पार्दैनन् भन्ने बुझाउन खोजेको हुनुपर्छ । यसले दिएको जवाफमा सरकारले गर्ने तयारीको पनि अर्थ छैन । कोरोनाका बारेमा प्रधानमन्त्रीको आफ्नै ब्रह्मज्ञान थियो । त्यसलाई स्वास्थ्यमन्त्रीले पनि सिकेछन् भनी लिनुपर्ने अवस्था आयो ।

जब आधिारिक व्यक्ति वा पदाधिकारीहरू कोरोनाको सम्बन्ध हावापानी, रहनसहन, खानपिन, देवीदेवताकै पालादेखिको सांस्कृतिक, धार्मिक, ऐतिहासिक, विभिन्न खालका सम्बन्धहरूसँग जोडेर हेर्न देखाउन थाल्छन् त्यसपछि राज्यले रोकथामका लागि गर्ने प्रयासहरू आफैँ देखावटीमा परिणत हुने भइहाले । अव्यवस्थाका बारेमा आवाज उठाउँदा मन्त्रीले गीत गाउनेहरू भनी संज्ञा दिए उनले भने, ‘गीतहरू बदली–बदली आउनेछन् । एक जमाना थियो, पीपीई भएन भने राजीनामा दिन्छौँ भन्ने । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन । त्योपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउनेछ र भेन्टिलेटरका गीतहरू आउनेछन् ।’

यो ठाउँमा यी मन्त्रीले के भन्न खोजको हो भन्ने नै प्रस्ट भएन । यदि उनले भनेका शब्दअनुसारका अर्थ हुनु भने नागरिकका लागि र खासगरी कोरोनाको रोकथममा चासो दिने विज्ञहरूका लागि मन्त्रीको यो भनाइ एउटा ठूलो व्यङ्ग्य हो । यसअघि उनले नेपाली जनता सबै अन्धा मोतीबिन्दु लागेका भनी प्रतिक्रिया दिएका थिए । यस्ता गैरजिम्मेवार प्रस्तुतिका बारेमा सरकारले जवाफ दिनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया